विराटनगर । उद्योग सङ्गठन मोरङ ब्यवसायीहरुको समस्याको बारेमा  गम्भीर छलफल गर्ने भएको छ। कोशी प्रदेश तथा सङ्घीय सांसदहरूसँग व्यवसायीले आफ्ना समस्या सुनाउन लागेका हुन् । उद्योग व्यवसाय क्षेत्रहरूले भोग्दै आएका समस्याहरूको समाधानका लागि नीतिगत बहस र पैरवीको रूपमा “थुन्ने की सुन्ने” कार्यक्रम आयोजना गर्न लागिएको सङ्गठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए । 
पछिल्लो समय निजी क्षेत्रमा सिर्जना भएको भय र त्रासको वातावरणले नयाँ लगानी आउन नसकेको तथा  भइरहेको लगानी समेत पलायन हुने अवस्था सिर्जना भएको उनले जानकारी दिए । यस अवस्थामा निजी क्षेत्रका उद्योगी व्यवसायीलाई राज्यले गर्ने व्यवहार र सामाजिक रूपमा हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने जरुरी देखिएको छ, उनले भने,  कुनै न कुनै क्षेत्रले अहम् भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता बोध गरी उद्योग सङ्गठन मोरङले मूलधारका राजनीतिक दलको नीति निर्माणमा भूमिका खेल्ने सांसदहरूलाई कार्यक्रममा सहभागी गराइने छ ।