विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफूले  सरकार टिकाउनको लागि राजीनामा दिनु पर्ने परिस्थिति आए राजीनामा दिन पनि तयार रहेको बताएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहणपछि पत्रकारसँग कुरा गर्दै सभामुख गौतमले तत्कालै राजीनामा नदिए पनि भोलीका दिनमा राजीनामा दिन सक्ने सङ्केत गरेका हुन् ।   यस्तो छ उनीसँग गरिएको संक्षिप्त कुराकानी 

तपाईँले राजीनामा कहिले दिने ?
मैले राजीनामा दिने बारेमा सोचेको छैन । 
तपाईँलाई सभामुख भनेर सम्बोधन गर्नु की प्रदेश सभाको सदस्य भनेर सम्बोधन गर्ने ?
के भनेर सम्बोधन गर्नु हुन्छ भन्ने तपाईँहरूको कुरा हो ।  अहिलेसम्म म पदमा बहाल छु । 
तपाईँले संसदीय इतिहास  धुमिल पर्ने काम गर्नु भयो भन्ने छ, के भन्नुहुन्छ ?
त्यस्तो केही पनि भएको छैन । आजसम्मको परम्परालाई हेर्दा सभामुखहरूको नाम सरकार गठनमा पठाएको देखिन्छ । प्रमाणिक आधारहरूले त्यसलाई पुष्टि नै गरेको छ। राष्ट्रपति कार्यालयमा ती फाइलहरू सुरक्षित नै होलान् भन्ने मैले ठानेको छु। सबै प्रदेश सरकारहरू बन्दा सभामुखको नाम जाने गरेको मैले पाएँ । नाम जान्छ भन्ने कुरामा म ढुक्कै थिएँ ।  यहाँ विशिष्ट चैँ भएको छ।  साथीहरूले नाम छुट्टै सही गर्नुपर्ने प्रावधानको विषयमा म तयार थिईन । तपाईहरुलाई प्रस्टै भन्नु पर्दा म तयार थिइन । अन्तिम अवस्थामा मैले हस्ताक्षर सहित नदिई नहुने अवस्था देखा प¥यो त्यसै कारणले गर्दा मैले सरकार बनाउने कुरामा आफ्नो सहमति दिएको हो । 
अन्तिम समयमा आएर तपाईँलाई हस्ताक्षर गर्न कसले बाध्य बनायो ?
त्यो अहिले यसै भन्न सक्दिन । यो कुरा मैले निकास दिने कुराको रूपमा बुझ्दा हुन्छ । 

तपाईँले गरेको गैर संवैधानिक निर्णय अदालतले उल्ट्यायो भने तपाईँ के गर्नु हुन्छ ?
उल्ट्याएको अवस्थामा अदालतलाई मैले मान्नु पर्ने निकाय हो । अदालतले उल्ट्याउन सक्छ, उल्ट्याउने कुरा उसको कुरा हो, मेरो कुरा होइन । 

पार्टीले राजीनामा दिन लगायो भयो तपाईँ के गर्नुहुन्छ ?
राजीनामाको कुरा अब परिस्थिति अनुसार आउन पनि सक्छ । यही अवस्थामा अहिले हामी ४६÷४६ को अवस्थामा सरकार चलाई रहन सक्दैनौँ । अहिलेको अवस्थामा कुनै कन्फर्टेवल नभएको हुनाले सहज म्याजुरिटी नभएको अवस्थामा सरकार पनि टिक्दैन र सभामुख पनि त्यहीँ रहिरहन सक्ने अवस्था बन्दैन । यसको निकास त निस्कनु पर्छ । पक्ष या विपक्षमा निस्कनै पर्छ भन्ने कुरामा म आफू प्रस्ट छु । 
सरकार बनाउनका लागि सभामुख पद दाउमा राख्नु भएको हो ?
दाउ भन्दा पनि यो परिस्थितिको उपज हो । पहिला कुरा सरकार विघटन हुने बेलामा यो तयारी हुनपर्थ्यो । कन्फर्टेवल म्याजुरिटीको तयारी हुनुपर्थ्यो त्यो भएको रहेनछ भन्ने बुझियो । त्यो नभइसकेपछि त्यहाँ सभामुख नै सहभागी भएर सरकार बनेको अवस्था छ । अब यस्तो अवस्था बारम्बार आई रहने कुरा हुन्छ । त्यसो हुँदा अब हरेक विधेयकहरूमा आउला, हरेक बजेटमा आउला,   हरेक काममा बहुमत सिद्ध गर्न आवश्यक  हुन्छ । त्यस्तो अवस्थामा मैले भन्ने कुरा भनेको त्यो सरकारले पु¥याउन बल गर्नु पर्छ । अब हरेक निर्णयमा सरकारले बहुमत पु¥याउने सम्भावना बन्छ की बन्दैन, अब त्यो अवस्था अपेक्षा नै रहिरह्यो भने त्यस्तो अवस्थामा मैले राजीनामा दिनु पर्ने हुनसक्छ ।  त्यहाँ कसैको डर र करले भन्दा पनि त्यहाँ मेरो नैतिकताको कुरा पनि बन्न सक्छ ।  अप्ठ्यारोमा राजीनामा दिन सक्छु । 
सभामुख पदको तटस्थता रह्यो की रहेन ?
तटस्थता भन्ने कुरा चैँ  त्यो संसदीय इतिहासमा पक्ष र विपक्षकै भूमिका हुन्छ । निष्पक्षता भन्ने कुरा कहीँ पनि हुँदैन । सरकार पनि निष्पक्ष हुँदैन । मुख्यमन्त्री आज बन्नुभयो, उहाँले निष्पक्षता शपथ खानु भएको छ । राज्यका सम्पूर्ण निकाय निष्पक्ष हुनपर्छ, तर यसको मतलब के हैन भनेँ मैले सदनमा गर्ने भूमिका म रहँदासम्म निष्पक्ष हुन्छ, यदि त्यो हुन सक्ने स्थिति बनेन भनेँ साँच्चीकै अप्ठ्यारो पर्ने स्थिति आयो भनेँ मैले यहाँ बसिरहनु पर्ने आवश्यकता हुँदैन । 
तपाईँले नैतिकताको प्रश्न गरिरहँदा सभामुखले सरकारलाई समर्थन गर्न नैतिकताले दिन्थ्यो ?
यसको निकास चैँ के थियो त ? अब दुई–दुई तिर बाँडिएको छ। यो चैँ सरकार नबन्ने निरन्तरताको कारण हामीले यो प्रदेशलाई डेडलक त राख्न सक्दैनौँ थियौँ । पार्टीले दबाब दिएको कुरा छैन । म आफैँले मैले विवेक पु¥याएर सरकारलाई समर्थन गरेको हो ।  
सभामुखले आफ्नो गरिमा जोगाउन नसकेको भन्ने संविधान विद्को कुरालाई के भन्नु हुन्छ ? सभामुखबाट गिरेर सरकारलाई सघाएको हो ?
त्यो कुरालाई म मान्छु । मैले आफ्नै हैसियत भन्दा तल झरेर गरेको निर्णयमा म सहमत नै छु । म आफ्नो सदनको अध्यक्षको नाताले मैले पक्ष र प्रतिपक्षलाई मिलाएर जानु पर्ने मेरो जुन दायित्व छ त्यसको आधारमा एक पक्षीय रूपमा हस्ताक्षर गर्नु नपरोस् भन्ने मेरो चाहना नै थियो ।  त्यसकालागि मेरो अन्तिमसम्म प्रयास पनि थियो ।  त्यो लुकीछिपी पनि छैन त्यो क्लियर नै छ । अन्तिममा निकास के हो त त्यसो भए । निकास विहीन हामीले प्रदेशलाई राख्न सक्दैन थियौँ ।  भोली त्यसको गृहकार्य कसरी हुन्छ, त्यसको छलफल कसरी हुन्छ, कसरी बन्छ, टिक्छ की टिक्दैन भन्ने कुरा उहाँहरूले जान्नुहुन्छ ।  मैले निकास दिनु पर्थ्यो मैले निकास दिएकै हो  । 
अब तपाई दलको कार्यकर्ता हो की  

मैले पनि चुनाव जितेरै आएको अवस्था हो । त्यस्तो अवस्थामा सम्पूर्ण रूपमा पार्टीबाट छुटेको भन्ने हुँदैन । विगतका  सभामुखहरु पनि हिजो छाडेको भए पनि आज पार्टीमै हुनुहुन्छ ।  काम गरिरहनु भएको छ, त्यो नौलो कुरा हैन । अहिले भनेको प्रदेश सभालाई डेडलक राख्नबाट निकास दिएको हो । म सत्ता पक्ष भएको छैन, अहिलेलाई निकास मात्र दिएको हो ।