इटहरी । सुनसरीको हरिनगरमा गएराति छठ पूजास्थल तोडफोड गरी सामाजिक तथा धार्मिक सहिष्णुतामा खलल पार्ने प्रयत्न गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पर्नेमा हरिनगर गाउँपालिका–६ बस्ने १९ वर्षीय रिजवान मन्सुरी र सोही स्थानका २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन् । प्रहरीका अनुसार कात्तिक २९ गते साँझ ७ः३० बजे हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा रहको छठ पुजा स्थलमा तोडफोड भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार भक्तजनहरू साँझको छठ पूजा सकेर घर फर्किसकेपछि पूजास्थलमा तोडफोड गरिएको थियो । घटनामा संलग्न रहेको पाइएपछि मन्सुरी र मियाँलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।










