इटहरी । तिहारलाई लक्षित गरी अवैध रूपमा बिक्री वितरणका लागि राखिएका करिब एक लाख रुपैयाँ मूल्य बराबरका प्रतिबन्धित पटका प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका पटका प्रहरी, जनप्रतिनिधि, पत्रकार तथा स्थानीयवासीको रोहबरमा नष्ट गरेको हो ।

प्रहरीले विभिन्न २० प्रकारका प्रतिबन्धित पटका नियन्त्रणमा लिएर आइतबार प्रहरी कार्यालय परिसरमा खाल्डो खनी नष्ट गरेको जनाएको छ ।

तिहार नजिकिएसँगै पटका तथा अन्य विस्फोटक पदार्थको अवैध कारोबार र प्रयोग हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले निगरानी बढाएको थियो ।

सोही क्रममा गैरकानुनी रूपमा बिक्री वितरण गर्ने उद्देश्यले विभिन्न स्थानमा राखिएका पटका बरामद गरिएको प्रहरीले जनाएको छ ।

पटका पड्काउँदा आगलागी, मानवीय चोटपटक तथा अन्य दुर्घटनाको जोखिम हुने भएकाले यसको प्रयोग नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

विशेषगरी तिहार र छठजस्ता चाडपर्वका बेला पटका पड्काउने, ओसारपसार गर्ने तथा बिक्री वितरण गर्ने गतिविधि बढ्न सक्ने भएकाले प्रहरीले निगरानी र सुरक्षा जाँचलाई समेत कडाइ गर्ने जनाएको छ ।

प्रहरीले प्रतिबन्धित विस्फोटक पदार्थको कारोबार तथा प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।