सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ मा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ ।
दुर्घटनापछि ट्रक छाडेर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी लोकमार्गमा शनिबार राति उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प.३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको विराटनगर महानगरपालिका–९ का २७ वर्षीय इस्पस अर्याल र पछाडि सवार विराटनगर–२ तीनपैनीका २८ वर्षीय सास्वत पोखरेल गम्भीर घाइते भएका थिए ।
दुवैलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि ट्रक चालक सवारीसाधन घटनास्थलमै छाडेर फरार भएका थिए ।
प्रहरीले ट्रक र मोटरसाइकल नियन्त्रणमा लिएर फरार चालकको खोजी थालेको थियो ।
यसक्रममा ट्रक चालक सुनसरीको रामधुनी नगरपालिका–५ का ३९ वर्षीय काशीराम चौधरीलाई आइतबार बिहान इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका चालकविरुद्ध आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।











