इटहरी । इटहरीमा आयोजित नगरस्तरीय लोकनृत्य प्रतियोगितामा कस्तुरी माध्यमिक विद्यालय प्रथम भएको छ। राष्ट्रिय जागृति क्लबले कागतिहारको अवसरमा आयोजना गरेको प्रतियोगितामा तरहरा मोडल स्कुल दोस्रो र हिमशिखर स्कुल तेस्रो भएका छन्।
कस्तुरी माविको विजयी टोलीमा रिसिका खत्री, आरोही श्रेष्ठ, आरुषी श्रेष्ठ, नुवाहाङ लिम्बु, आभाष बर्देवा र मारिया तामाङ सहभागी थिए। प्रतियोगितामा प्रथम भएको कस्तुरी माविले २० हजार रुपैयाँ, दोस्रो भएको तरहरा मोडल स्कुलले १५ हजार रुपैयाँ र तेस्रो भएको हिमशिखर स्कुलले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
विद्यालयस्तरका विद्यार्थीलाई नेपाली मौलिक कला, संस्कृति र लोकपरम्पराको संरक्षण तथा प्रवर्द्धनमा सहभागी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ। कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रमा योगदान पुर्याएकी गायिका लोचन भट्टराईलाई यस वर्षको स्रष्टा सम्मान प्रदान गरिएको थियो।
भट्टराईले कार्यक्रममा आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने अन्य छ जनालाई समेत सम्मान गरिएको थियो।
पत्रकारितातर्फ विनय बाह्रकोटी, पर्यटनकर्मीतर्फ तेजबहादुर पुरी, क्रिकेट खेलाडीतर्फ दिवस बिष्ट, शिक्षासेवातर्फ रमेश शाह, संगीतकर्मीतर्फ श्याम सुनुवार र ब्याडमिन्टन खेलाडीतर्फ सबिज्ञा दाहाल सम्मानित भएका थिए।
उनीहरूलाई इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी, क्लबका संस्थापक अध्यक्ष रामकुमार सुब्बा, अध्यक्ष केशव कार्की र कार्यक्रम संयोजक रविन गौतमलगायतले सम्मान गरेका थिए।
राष्ट्रिय जागृति क्लबले खेलकुद गतिविधिसँगै स्थानीय कला, संस्कृति र प्रतिभाको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष कागतिहारका अवसरमा यो कार्यक्रम आयोजना गर्दै आएको छ।











