विराटनगर। अग्रज कवि तथा रंगकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ। विराट साहित्य संगमले शनिबार विराटनगरमा आयोजना गरेको एक विशेष समारोहका बीच उक्त कृतिको औपचारिक विमोचन गरिएको हो।

साहित्यकार कैलाशकुमार राई, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, अग्रज साहित्यकार मेदिनीप्रसाद शर्मा, प्राज्ञ खेम नेपाली, नेपाल मुक्तक प्रतिष्ठान कोशीका अध्यक्ष बाबुराम पोखरेल र डा.नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंले संयुक्त रूपमा कृतिको विमोचन गरे।

विमोचित कृतिमाथि टिप्पणी गर्दै समीक्षक बाबुराम पोखरेलले संग्रहभित्रका कविताले सामाजिक यथार्थ र चेतनालाई सशक्त रूपमा उठाएको बताए। कार्यक्रममा आयोजक संस्थाका सचिव गोपाल निर्भीकले स्वागत मन्तव्य राख्नुभएको थियो भने कवि उमेश लुइँटेलले लेखक न्यौपानेको व्यक्तित्व तथा साहित्यिक योगदानमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा प्रमुख अतिथि राईका साथै प्राज्ञ विवश पोखरेल र कवि मनु मञ्जिलले नयाँ कृतिको सफलताको शुभकामना व्यक्त गरेका थिए। सोही अवसरमा कविहरूले संग्रहभित्र समेटिएका विभिन्न कविताहरू वाचन गरेर सुनाएका थिए। विराट साहित्य संगमले प्रकाशनमा ल्याएको कुल ४१ वटा कविताहरू समावेश गरिएको यस संग्रहले नेपाली साहित्यमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।shipi