सुनसरी । कोशी प्रदेशका पर्यटकीय क्षेत्रको गन्तव्य, अनुभव र सम्भावना बारे लेखिएको पुस्तक ‘कोशी’ माथि इटहरीमा परिचर्चा गरिएको छ ।
सुनसरी धरानका पर्यटन व्यवसायी बासुदेव बरालले यस प्रदेशका प्राकृतिक, धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यको भ्रमण गरी त्यहाँको अनुभव र विकासको सम्भावनालाई पुस्तक ‘कोशी’ मा उतारेका छन् ।
शनिबार संगीत साधना प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बरालको पुस्तकमाथि उपप्राध्यापक अर्जुन उप्रेती र पर्यटनकै क्षेत्रमा कलम चलाउने पत्रकार विराट अनुपमले परिचर्चा गरे ।
पुस्तकको चर्चा गर्दै लेखक समेत रहेका प्राध्यापक उप्रेतीले पुस्तक बाहिरबाट देख्दा सामान्य लागेपनि समेटिएका विषयवस्तु निकै महत्वपूर्ण रहेको बताए । विशेष गरी पर्यटन पढ्ने,लेख्ने तथा यस बारे अध्ययन गर्नेहरुले संग्रहित गरेर राख्नुपर्ने पुस्तक रहेको उनले बताए ।
कोशीका प्राकृतिक, धार्मिक तथा साँस्कृतिक क्षेत्रहरु बारे आम मानिसले बुझ्दै आएको भन्दा फरक र रोचक ढगले पुस्तकमा वर्णन गरिएको उप्रेतीको भनाई थियो ।
पुस्तकमा राखिएका पर्यटकीय क्षेत्रमा लेखक आफै त्यहाँ पुगेर लेखिएको हुनाले स साना विषयवस्तुलाई पनि मिहिनढंगले प्रस्तुती गर्दा पुस्तक थप उत्कृष्ठ बन्न पुगेको उनले बताए ।
कोशी प्रदेशमा होटल म्यानेजमेन्ट तथा पर्यटन पढाई हुने विद्यालय तथा कलेजहरुले यो पुस्तकलाई स्रोत सामग्रीको रुपमा प्रयोग गर्न उप्रेतीले सिफारिस पनि गरे ।

यस्तै पर्यटनकै विषयमा कलम चलाउँदै आएका पत्रकार विराट अनुपमले पुस्तक ४ कारणले अथेन्टिक रहेको बताए ।
लेखक बराल आफै पर्यटन व्यवसायी भएर पर्यटनकै विषयमा लेखिएको, व्यावसायीक पब्लिकेसनबाट प्रकाशित गरिएको र प्रमाणित कागजपत्रले पुष्टि हुने भएका कारण पुस्तक अथेन्टिक भएको उनले दावी गरे ।
लेखक बराल प्रोफेसनल पर्यटन व्यावसायी भएको र सोही अनुभवलाई पुस्तकमा उतारेको पत्रकार अनुपमले बताए । पर्यटनको विषयमा कसैले लेखे त्यो साहित्य हुन सक्ने तर पर्यटनमा व्यावसायीक काम गर्दै आएका लेखकले लेखेको कुरा त्यो व्यावसायीक र अथेन्टिक हुने अनुपमको भनाई थियो ।
पुस्तकमा लेखकको कथा भन्ने शैली गज्जबको देखिएको अनुपमले सुनाए । लेखकले मनमा उठेका भावनालाई जस्ताको त्यस्तै पुस्तकमा बर्णन गरेकाले पढ्न मज्जा आउने अनुपम बताउँछन् । कतिपय ठाउँमा कविता भने जस्तो लाग्ने त कतिपय ठाउँमा रिपोर्ट लेख जस्तो पनि देखिएको उनले टिप्पणी गरे ।
पत्रकार अनुपमले लेखकले पुस्तक ठिक समयमा प्रकाशन गरेको बताए । नेपालमा र त्यसमा पनि कोशीमा भर्खर मात्र पर्यटनको चर्चा गर्न थालिएको ठिक समयमा पुस्तक प्रकाशन भएको उनको तर्क थियो ।
यता, लेखक बराल आफु कुनै लेखक नभएको स्विकार गर्छन् । उनले आफुले देखेको,भोगेको र अनुभव गरेको कुरालाई सुरुमा लेखमा उतारेको र पछि त्यहि लेखलाई संग्रहित गर्न पुस्तक प्रकाशन गरेको स्पष्ट पारे ।
नेपालमा दस्तावेजीकरणको ठुलो समस्या रहेको उल्लेख गर्दै बरालले आजको कुरा भोलीका पुस्ताले पढ्न पाउन भनेर पुस्तक प्रकाशन गरेको बताए ।
पुस्तक प्रकाशन पछि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको उनले बताए । सबैले राम्रो प्रतिक्रिया दिएकाले पुनः प्रदेशका ५० गन्तव्यका बारेमा लेखेर पुस्तक प्रकाशन गर्ने रहर जागेको उनले हलमा सुनाए ।
कार्यक्रमको अन्तिममा पुगेका प्रमुख अतिथि तथा पूर्व मन्त्री रेवतीरमण भण्डारीले कोशी पर्यटनको सम्भावनायुक्त प्रदेश भएकोले पर्यटन विकासको प्रयास गर्ने बताए ।
कार्यक्रमका अध्यक्ष तथा संगीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष प्रदीप रेग्मीले पर्यटन प्रवद्र्धनका लागि सरकारी प्रयास मात्र पर्याप्त नहुने भन्दै साहित्य, सञ्चारमाध्यम र नागरिक समाजको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहने बताए ।

















