सुनसरी । सुनसरीको रामधुनीमा खुला दौड प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामधुनी–७ शाखा कमिटीको आयोजनामा आगामी मंसिर ६ गते प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा खुलातर्फ ५ किलोमिटर र बालबालिकाको उमेर समूहमा ३ किलोमिटर दौड आयोजना गरिने आयोजकले जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो ।
खुलातर्फ महिला तथा पुरुष दुवै विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा करिब ५ सय धावकधाविकाको सहभागिता रहने अनुमान गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
खेलकुदमार्फत युवालाई शारीरिक रूपमा स्वस्थ, अनुशासित र सक्रिय बनाउने तथा स्थानीय स्तरमा दौड प्रतियोगिताको संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
बालबालिकालाई समेत समेटेर आयोजना गर्न लागिएको प्रतियोगिताले सानै उमेरदेखि खेलकुदप्रति रुचि र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
प्रतियोगिता सम्पन्न गर्न एक लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगितामा रामधुनीसहित आसपासका जिल्लाका धावकधाविकाको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।











