इटहरी । केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगितामा घरेलु टोली इटहरी सुपर किङ्स र छिन्नमस्ता लायन्स विजयी भएका छन् ।
आइतबार सम्पन्न लिग चरणका खेलमा दुवै नेपाली टोलीले भारतका प्रतिद्वन्द्वीलाई एकतर्फी रूपमा पराजित गर्दै प्रतियोगितामा दुई–दुई अंक जोड्न सफल भएका हुन् ।
इटहरी सुपर किङ्सले भारतको एचपीसीए पटनालाई ८ विकेटले हरायो ।
पहिले ब्याटिङ गरेको एचपीसीए पटना १९.४ ओभरमा सबै विकेट गुमाउँदै ५५ रनमा समेटिएको थियो ।
५६ रनको सामान्य लक्ष्य पछ्याएको इटहरीले ६.१ ओभरमै २ विकेट गुमाएर ५९ रन बनाउँदै सहज जित हात पार्‍यो । 
आइतबार नै भएको अर्को खेलमा छिन्नमस्ता लायन्सले भारतको केसीसी इन्डियालाई ९ विकेटले पराजित गर्‍यो ।
पहिले ब्याटिङ गरेको केसीसी इन्डिया १०.५ ओभरमा २४ रनमै अलआउट भयो ।
जवाफमा छिन्नमस्ता लायन्सले ४.३ ओभरमै १ विकेटको क्षतिमा २५ रन बनाउँदै सहज जित दर्ता गर्‍यो ।