सुनसरी । कोसी प्रदेसमा सार्वजनिक यातायातलाई सुरक्षित, प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउन सरोकारवाला निकायबाट पहल गरिने भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको आयोजनामा बुधबार सम्पन्न सरोकारवालाहरुको छलफलमा यस्तो पहल गर्ने प्रतिबद्धता जनाइएको हो । छलफल कार्यक्रम नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूची अन्तर्गत सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा नियन्त्रणका लागि प्रविधिको प्रयोगबारे केन्द्रित रहेको थियो ।

विशेषगरी सवारी साधनमा सीसीटिभी जडान गर्ने, राइड–सेयरिङ एपमार्फत एसओएस बटनको व्यवस्था गरी आकस्मिक तथा जोखिमपूर्ण अवस्थाको सूचना तत्काल प्रहरीसम्म पुर्‍याउने विषयमा छलफल गरिएको थियो ।22

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता प्रविधिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सहभागीहरूले बताएका छन् ।

कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूबीच अनुभव आदान–प्रदान र सुझाव संकलन गरिएको थियो ।

कार्यक्रममा यातायात ब्यवशायी राष्टिय महासंघ कोसी प्रदेश संयोजक सरोज श्रेष्ठ, कोसी बस ब्यवशायी संघका कार्यबहाक अध्यक्ष राजमणी निरौला, सुनसरी ट्याक्सी ब्यवशायी संघका अध्यक्ष सुरज शाक्य लगायतले सार्वजनिक यातायातलाई सुरक्षित, प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउन ब्यवशायीको मात्र भर नगरेर सबैको सहकार्य हुनपर्ने बताए ।

कार्यक्रमबाट प्राप्त सुझावलाई आगामी दिनमा कार्यान्वयनमा लैजानको लागि माथिल्लो निकायमा पठाइने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक सन्तोष श्रेष्ठले बताए ।