सुनसरी । कोशी प्रदेश र पश्चिम बंगाल बिचको सीमापार पर्यटन सहकार्यका लागि साँस्कृतिक तथा पर्यटन उत्सब आयोजना गरिने भएको छ । विशेष गरी पश्चिम बंगालका क्षेत्रमा कोशी प्रदेशका प्राकृतिक तथा साँस्कृतिक पर्यटनको प्रवर्धन गर्न कोशी–बंगला सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ आयोजना गर्न लागिएको हो ।
अगामी चैत्र २४ र २५ गते झापाको विर्तामोडमा उत्सव आयोजना गर्न लागिएको हो । उत्सवको मूल नारा ‘सीमापार संस्कृति, सम्पदा र पर्यटनको उत्सव’ रहेको छ ।
पर्यटन कार्यालय काँकडभिट्टाको आयोजनामा हुन लागेको उत्सवले नेपाल र भारत बीचको सांस्कृतिक निकटतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको आयोजक समितिकी संयोजक इन्दिरा श्रेष्ठले जानकारी दिइन् ।
कार्यक्रममा नेपालका १८ र बंगालका १२ गरी ३० वटा स्टल रहनेछन्। ती स्टलहरूमा स्थानीय खानाका परिकार, हस्तकला सामग्री, पर्यटन प्याकेज तथा सेवा प्रस्तुत गरिनेछ ।
यस्तै, टुर तथा ट्राभल व्यवसायी, होटल र होमस्टे सञ्चालकहरूको सहभागिताले पर्यटन क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । उत्सवमा सांस्कृतिक नृत्य, फोटो तथा चित्रकला प्रदर्शनी जस्ता गतिविधि पनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

















