सुनसरी । सडक सुरक्षा सुदृढ गर्दै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सुनसरीको धरान क्षेत्रमा सवारी चालकहरूको लागू पदार्थ सेवन (लापसे) तथा मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्दा ७ जना पक्राउ परेका छन ।
धरानको तिनकुनेस्थित कोशी लोकमार्गमा सञ्चालन गरिएको चेकजाँचका क्रममा विभिन्न सवारी साधनका चालकहरूको लागू तथा मादक पदार्थ सेवन परीक्षण गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
उनका अनुसार आइतबार ३२ जना चालकको लागू पदार्थ सेवन परीक्षण गरिएकोमा ६ जना चालकमा लागू पदार्थ सेवन गरेको पुष्टि भएको छ ।
जसमा दुई जना अटो चालक र चार जना बस चालक रहेका छन् । त्यस्तै, एक जना मोटरसाइकल चालकमा मादक पदार्थ सेवन गरेको पाइएको छ ।
पक्राउ परेका ती ७ जना चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको आयोजना तथा धरान उपमहानगरपालिकाको सहकार्य भएको हो ।
ट्राफिक प्रहरीले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सडक सुरक्षामा कडाइ गरिने जनाएको छ ।

















