सुनसरी । महिला सुरक्षाका लागि घरलाई सबैभन्दा सुरक्षित स्थान मानिन्छ। तर सुनसरीमा पछिल्लो तीन महिनामा अभिलेख भएका लैङ्गिक हिंसाका घटनाले यही मान्यतालाई चुनौती दिएको छ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक), सुनसरीले अप्रिलदेखि जुन २०२६ सम्म अभिलेख गरेका ४७ वटा लैङ्गिक हिंसाका घटनामध्ये ४१ वटा अर्थात् ८७.२३ प्रतिशत घटना घरभित्रै भएका छन्।

झनै गम्भीर पक्ष, घरेलु हिंसाका अधिकांश घटनामा आरोपित महिलाका अपरिचित व्यक्ति नभई आफ्नै श्रीमान् छन्।

अभिलेखअनुसार ३९ वटा घटनामा श्रीमान् आरोपित छन्। अर्थात् सुनसरीमा अभिलेख भएका लैङ्गिक हिंसाका घटनामध्ये अधिकांश महिलाले बाहिरबाट होइन, आफ्नै वैवाहिक सम्बन्धभित्र हिंसा भोगिरहेका छन्।

ओरेकको तथ्याङ्कले हिंसाको स्वरूप र त्यसको जरा परिवारभित्र रहेको असमान शक्ति सम्बन्धतर्फ संकेत गरेको छ।

घरेलु हिंसाका ४१ घटनामध्ये २३ वटामा महिलामाथि प्रत्यक्ष शारीरिक आक्रमण गरी घाउचोट पुर्‍याइएको छ।

अन्य घटनामा मानसिक, भावनात्मक, आर्थिक तथा नियन्त्रणजन्य हिंसा भएको पाइएको छ।

कोशी प्रदेशभर यही अवधिमा २०१ वटा लैङ्गिक हिंसाका घटना अभिलेख हुँदा सुनसरीमा मात्रै ४७ वटा घटना दर्ता भएका छन्।

तीमध्ये ३ वटा सामाजिक हिंसा र २ वटा यौनजन्य दुर्व्यवहारका घटना छन्। तर जिल्लाको सबैभन्दा ठूलो समस्या घरेलु हिंसा नै रहेको तथ्याङ्कले देखाएको छ।

हिंसामा संलग्न व्यक्तिको सम्बन्ध हेर्दा ३९ वटा घटनामा श्रीमान्, ३ वटामा परिवारका अन्य सदस्य, २/२ वटामा छिमेकी र समुदायका सदस्य तथा एउटामा साथी आरोपित छन्।

यसले महिलामाथिको हिंसालाई सार्वजनिक स्थानको सुरक्षा वा अपरिचित व्यक्तिबाट हुने जोखिमका रूपमा मात्रै बुझेर नहुने देखाएको छ।

हिंसाको ठूलो हिस्सा महिलाको दैनिक जीवनसँग जोडिएको घर, विवाह र परिवारभित्रै केन्द्रित छ।

ओरेक, सुनसरीकी जिल्ला कार्यक्रम अधिकृत चण्डिका मोहराका अनुसार सुनसरीको तथ्याङ्कले घरेलु हिंसा व्यक्तिगत झगडाको विषय मात्र नभई पितृसत्तात्मक सोच, लैङ्गिक शक्ति असमानता, आर्थिक निर्भरता र सामाजिक विभेदसँग जोडिएको संरचनागत समस्या भएको देखाउँछ।

हिंसाबाट प्रभावित महिलाको पेशागत अवस्थाले पनि घरभित्रको आर्थिक सम्बन्ध र हिंचाबीचको सम्बन्ध देखाएको छ।

अभिलेख भएका ४७ महिलामध्ये २८ जना अर्थात् ५९.६ प्रतिशत घरायसी काममा संलग्न छन्।