सुनसरी – सुनसरीको दुहबी नगरपालिकामा फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यसहित आधुनिक फोहोर प्रशोधन केन्द्र (वेस्ट म्यानेजमेन्ट सेन्टर) निर्माण कार्य सुरु गरिएको छ।

नगरपालिकाले आइतबार आयोजित एक कार्यक्रमका बीच उक्त परियोजनाको शिलान्यास गरेको हो। दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारभारतीय राजदूतावास का प्रथम सचिव नारायण सिंह ले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

“कन्स्ट्रक्सन अफ वेस्ट म्यानेजमेन्ट सेन्टर विथ मटेरियल रिकभरी फ्यासिलिटी एण्ड इक्विपमेन्ट सप्लाई” नाम दिइएको यो परियोजना भारतीय दूतावास र दुहबी नगरपालिकाको सहकार्यमा सञ्चालन हुन लागेको हो। दुहबी–४ मा निर्माण सुरु भएको केन्द्रमार्फत नगर क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

परियोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सिद्धार्थ दर्शन–चुरिया जेभीले ठेक्का पाएको उक्त योजनाको कुल लागत करिब १८ करोड ३५ लाख ६८ हजार रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिए।

1

उनका अनुसार केन्द्र निर्माण सम्पन्न भएपछि फोहोरको वर्गीकरण, पुनःप्रयोग (रिसाइक्लिङ) र सुरक्षित व्यवस्थापनमा सहजता आउनेछ। यसले वातावरण संरक्षणसँगै नगरको सरसफाइमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसअघि गत कात्तिक महिनामा परियोजनाका लागि भारत सरकारको सोही रकम बराबरको लगानी सुनिश्चित गर्दै त्रिपक्षीय सम्झौता भएको थियो। उक्त सम्झौतामा नेपाल सरकारको अर्थ मन्त्रालय, भारतीय राजदूतावास र दुहबी नगरपालिकाको सहभागिता रहेको थियो।

नगरप्रमुख गच्छदारले २०४६ सालपछि पहिलो पटक दुहबीमा यति ठूलो विदेशी लगानी आएको उल्लेख गर्दै यसलाई नगरका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनले यस्तो परियोजनाले आगामी दिनमा अन्य क्षेत्रहरूमा पनि विदेशी लगानी भित्र्याउने बाटो खुल्ने विश्वास व्यक्त गरे।

3

“विकासका लागि सरकार मात्र होइन, विदेशी लगानी र निजी क्षेत्रको सहकार्य पनि उत्तिकै आवश्यक छ,” उनले भने, “यो साझेदारीले दुहबीको फोहोर व्यवस्थापनमा नयाँ अध्याय सुरु गर्नेछ।”

भारतीय राजदूतावासका प्रथम सचिव सिंहले उक्त परियोजना उच्च प्रभावकारी सामुदायिक विकास कार्यक्रमअन्तर्गत सञ्चालन गर्न लागिएको जानकारी दिए।