सुनसरी । कोसी प्रदेशको पर्यटन प्रवर्द्धन र विकासलाई लक्षित गर्दै इटहरीमा ‘इस्टर्न ट्राभल मार्ट’ सुरु भएको छ ।
शनिवारदेखि सुरु भएको मार्टको कोसी प्रदेशका बन वातावरण तथा पर्यटन मन्त्री भीम पराजुलीले उद्घाटन गरेका छन् ।
तीन दिनसम्म चल्ने कार्यक्रम पर्यटन क्षेत्रको प्रवर्द्धन तथा व्यावसायिक सञ्जाल विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।
विशेष गरी भारतीय पर्यटक र पर्यटन व्यवसायीलाई लक्षित गरिएको कार्यक्रममा प्रदेशका पर्यटन व्यवसायी, होटेल व्यवसायी, ट्राभल तथा टुर अपरेटर, ग्रामीण तथा धार्मिक पर्यटनसँग सम्बन्धित संघ–संस्थाहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा भारतका पश्चिम बङ्गाल, बिहार र सिक्किम लगायतका क्षेत्रबाट करिब २०० पर्यटन व्यवसायीहरूको सहभागिता भएका छन् ।
यसले प्रदेशको पर्यटन बजार विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक पुण्य भटराईले जानकारी दिए ।
तीन दिने कार्यक्रम अन्तर्गत व्यावसायिक अन्तरक्रिया, बि–टु–बि अर्थात् बिजनेस टु बिजनेस बैठक, प्रदर्शनी, भ्रमण अवलोकन लगायतका गतिविधि सञ्चालन हुनेछन् ।
सहभागीहरूलाई धरान, भेडेटार लगायतका पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।
नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरपालिकाको सह–आयोजना तथा कोसी प्रदेश सरकारको सहयोगमा सुरु भएको यस कार्यक्रमले प्रदेशको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले जानकारी दिए ।

















