सुनसरी । नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक बिक्रेता कम्पनी अग्नि ग्रुपअन्तर्गत अग्नि इन कर्पोरेटेड प्राइभेट लिमिटेडले इटहरीमा इलेक्ट्रिक ओरिजिन एसयूभीहरू बीई–६ र एक्सईभी ९–ई सार्वजनिक गरेको छ ।
इटहरीमा शुक्रवार सार्वजनिकिकरण समारोहमा कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का र अग्नी ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले यी नयाँ विद्युतीय एसयूभीहरू सार्वजनिक गरेका हुन् ।
कम्पनीका अनुसार यी दुवै गाडीहरू महिन्द्राको अत्याधुनिक इङ्ग्‌लो प्लेटफर्ममा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर (माया) बाट सञ्चालित छन् ।
यी अत्याधुनिक इ–एसयूभीहरूको सार्वजनिक करणले विद्युतीय सवारीको क्षेत्रमा नेपालको क्षेत्रीय स्तरमा नयाँ यात्राको सुरुवात गरेको जनाएको छ । यसअघि यी मोडलहरू २०८२ सालमा आयोजित ‘नाडा नेपाल मोबिलिटी एक्स्पोमा पहिलो पटक सार्वजनिक गरिएको थियो ।
कम्पनीका अनुसार नेपाली बजारमा बढ्दो विद्युतीय सवारीको माग, आधुनिक डिजाइन र स्मार्ट प्रविधिप्रतिको आकर्षणलाई मध्यनजर गर्दै यी गाडी ल्याइएको हो ।
अग्नि समूहका अध्यक्ष श्रेष्ठले इलेक्ट्रिक मोबिलिटी नेपालका लागि दिगो विकास र ऊर्जा आत्मनिर्भरताको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यी नयाँ मोडलहरूले सहरी बजारमा नयाँ सम्भावना सिर्जना गर्ने बताए ।
डिजाइनतर्फ बीई–६ मा स्पोर्टी र एथलेटिक्स सिलुएट रहेको छ भने एक्सईभी ९–ई मा लक्जरी कूपे शैली देखिने र दुवै गाडी हार्टकोर डिजाइन दर्शनमा आधारित छन्, जसले भावनात्मक आकर्षण र आधुनिकता संयोजन गर्ने जनाएको छ ।
प्रदर्शनका हिसाबले यी एसयूभीहरूले शक्तिशाली मोटर र उच्च पावर आउट पुट प्रदान गर्छन् ।
केही भेरियन्टमा करिब १९० किलोवाटसम्म पावर उपलब्ध हुने बताइएको छ, जसले स्मूद र उत्साहजनक ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यी गाडीको सुरुवाती मूल्य ५७ लाख रुपैयाँ तोकेको छ ।