सुनसरी । नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा नवीन गड्तौला चयन भएका छन्। 

शुक्रबार सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनले  गड्तौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । ३ बर्षे कार्यकालका लागि १७ सदस्य नयाँ कार्यसमिति गठन गरिएको छ । 

नवनिर्वाचित समितिको उपाध्यक्षमा सनम तमाङ र सोहन श्रेष्ठ रहेका छन् । यस्तै समितिको सचिवमा नसीम अन्सारी,सह सचिवमा विक्रान्त श्रेष्ठ र कृष्ण श्रेष्ठलाई चयन गरिएको छ ।  चयन भएका छन्। 

कोषाध्यक्षमा स्नेहा श्रेष्ठ र सह–कोषाध्यक्षमा शुक्रान्त राई चयन भएका छन्। त्यस्तै सदस्यहरूमा चन्द्रकला चौधरी, हिरण्य कार्की, प्रतीक राई, विवेक श्रेष्ठ, प्रवेशकुमार लिम्बू, संगीता राई, रुपेशकुमार मोची, दिपेश योञ्जन र रोहन थापा चयन भएका छन्। 


photo


नौ बुँदे घोषणापत्र जारी 


जिल्ला अधिवेशनले नौ बुँदे कोशी टप्पु घोषणापत्र जारी गरेको छ। संविधानतः पूर्ण प्रेस स्वतन्त्रता प्राप्त फोटो पत्रकारहरूको विधागत पहिचान उल्लेख गर्दै तीनै तहका सरकारलाई मिडियामैत्री कानुन निर्माण गर्न माग गरिएको छ।

 श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गर्नुका साथै फोटो पत्रकारलाई विभिन्न सञ्चारगृहले अनेक बहाना बनाएर रोकेको पारिश्रमिक यथाशीघ्र उपलब्ध गराउन माग गरिएको छ। 

पत्रकारमाथि हुने धाकधम्की, भौतिक आक्रमणका घटनामा दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । जारी घोषणापत्रमा फोटो पत्रकारिताको विकासका लागि समाचार कक्षमा फोटो पत्रकारको छुट्टै डेस्क स्थापना गर्न सञ्चारगृहसँग माग गरिएको  छ । 

 सूचना र प्रविधिको विकाससँगै पत्रकारिताको अर्थ, मान्यता र प्रक्रियालाई आत्मसात गर्दै पत्रकारिताको आचारसंहिता परिमार्जन, परिस्कृत र आत्मसात गर्न माग गरिएको छ। फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनसँग जोडेर विकास र समृद्धिका लागि तीनै तहका सरकारलाई अघि बढ्न आग्रह गरिएको छ।

घोषणापत्रमा कोशी प्रदेश सरकारको वार्षिक कार्यक्रम ‘कोशी पर्यटन वर्ष २०८२’ कार्यान्वयनको सन्दर्भमा कोशी टप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गर्न सबै सरोकारवालासँग माग गरिएको छ।

अधिवेशनमा सार्वजनिक गरिएको घोषणापत्रमा कुनै पनि प्रकारका मिडिया ट्रायल वा दुरुपयोगबाट जोगिएर निष्पक्ष रूपमा व्यावसायिक पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको समस्यालाई चिर्दै फोटो पत्रकारितामार्फत वास्तविक सन्देश जनतासमक्ष पुर्‍याउने प्रतिबद्धता जनाइएको छ।