सुनसरी– आयोजक द योङ ब्रदर्श क्लबमाथी १–० गोल अन्तरको संघर्षपूर्ण जीत निकाल्दै उदयपुरको बसाह क्लब तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइन्लमा प्रवेश गरेको छ ।
इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा बिहिबार भएको अन्तिम सेमिफाइनल खेलमा बसाहलाई उपाधी नजिक पुर्याउन कप्तान रितेश तामाङले गोल गरे । प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा गोल गर्न नसकेको बसाहको लागि तामाङले दोस्रो हाफको १३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
उत्कृष्ट प्रदर्शन गरेर टिमलाई उपाधी नजिक पुर्याएका उनी खेलको प्लेयर अफ द म्याच घोषित हुदै ५ हजार ५ सय रुपैयाँ नगद र मेडल प्राप्त गर्न सफल भए ।
बसाहाले अब उपाधीको लागि शनिबार संखुवासभाको लोहरुङ क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि लोहरुङले पहिलो सेमिफाइनलमा साबिक बिजेता केराबारी फुटबल क्लबलाई पराजित गर्दै उपाधी होडमा पुगिसेको छ ।
प्रतियोगीताको विजेता टीमलाई चार लाख चार हजार रुपैयाँ नगद प्रदान गरिनेछ । यस्तै, उपविजेता टीमलाई दुई लाख दुई हजार दुई सय प्रदान गरिनेछ ।
इटहरी उपमहानगरपालिकाको संयोजन र कोशी प्रदेश खेलकुद विकास बोर्ड संरक्षक रहेको प्रतियोगीतामा सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ भने बिधागत उत्कृष्टले नगद १३/१३ हजार रुपैयाँ पाउनेछन ।
















