सुनसरी । पूर्वी नेपालको व्यापारिक केन्द्र इटहरीमा दुई फेसन ब्रान्ड ‘डियरवे’ (Deerway) र ‘डेनिम नेसन’ (Denim Nation) को संयुक्त आउटलेट सञ्चालनमा आएको छ । इटहरीमा एकै छानामुनि दुई ब्रान्डका फेसन सामग्री उपलब्ध गराउने उद्देश्यसहित स्थापना गरिएको आउटलेटको बुधबार उद्घाटन गरिएको हो ।
उद्योग वाणिज्य संघ इटहरीकी अध्यक्ष गायत्री कटुवाल र इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवश पोखरेलले संयुक्त रूपमा आउटलेटको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कटुवाल र वडाध्यक्ष पोखरेलले पूर्वको प्रमुख व्यापारिक केन्द्र इटहरीमा नयाँ आउटलेट स्थापना हुनु व्यावसायिक दृष्टिले सकारात्मक भएको बताए । यस्ता व्यवसायले रोजगारीका अवसर सिर्जना गर्नुका साथै स्थानीय बजारमा आर्थिक गतिविधि बढाउन र इटहरीको व्यापार व्यवसायलाई थप चलायमान बनाउन सहयोग पुग्ने उनीहरूको भनाइ थियो ।
आउटलेटका सञ्चालक उत्तम कोइरालाका अनुसार एउटै स्थानबाट दुई फरक ब्रान्डका उत्पादन उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याइएको हो । ग्राहकको रुचि, आवश्यकता र बदलिँदो फेसनअनुसारका सामग्री सहज रूपमा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए ।
डियरवेले स्पोर्ट्स, क्याजुअल तथा लाइफस्टाइलसम्बन्धी सामग्री उपलब्ध गराउँदै आएको छ भने डेनिम नेसनले जिन्स, क्याजुअल तथा लाइफस्टाइल फेसनका सामग्रीलाई प्राथमिकता दिँदै आएको छ ।
दुवै ब्रान्डका उत्पादन एउटै आउटलेटबाट उपलब्ध हुने भएपछि ग्राहकले विभिन्न प्रकारका फेसन सामग्री एकै ठाउँमा छनोट गर्न सक्नेछन् ।
इटहरीस्थित गोलचौक पूर्वलाइनको दक्षिण साइड अर्थात सेन्ट्रल प्लाजाको विपरीत दिशामा स्थापना गरिएको आउटलेटमा युवादेखि विभिन्न उमेर समूहका ग्राहकलाई लक्षित गरी फेसन सामग्री उपलब्ध गराइएको सञ्चालक कोइरालाले जानकारी दिए ।
पछिल्लो समय इटहरीमा व्यावसायिक प्रतिष्ठान, सपिङ आउटलेट तथा विभिन्न ब्रान्डका सोरुम खुल्ने क्रम बढिरहेको छ ।
पूर्वी नेपालका विभिन्न जिल्ला तथा आसपासका क्षेत्रका उपभोक्ताको किनमेल केन्द्रका रूपमा विकसित हुँदै गएको इटहरीमा नयाँ ब्रान्डको प्रवेशले फेसन तथा खुद्रा व्यापारको बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।











