इटहरी । नेपालको लोकप्रिय ब्यान्ड नेपथ्यले आज इटहरीमा विशेष सांगीतिक प्रस्तुति दिँदैछ । इटहरीको रंगशालामा आज नेपथ्यका लोकप्रिय गायक अमृत गुरुङले ब्यान्डका लोकप्रिय तथा कालजयी गितहरु गाउँदै दर्शकहरुलाई मनोरञ्जन दिँदैछन् ।  

पूर्वाञ्चल इन्टरटेनमेन्ट प्रा.लि.ले यो कन्सर्टको आयोजना गरेको हो । आज ठिक ४ बजेबाट कन्सर्टका लागि रंगशालाको गेट खुल्ला हुनेछ । सबै तयारी पुरा भएको र अब साँझको प्रस्तुतीका लागि सबै पर्खेर बसेको आयोजकको भनाई छ ।  

ब्यान्डले पनि साँझको प्रस्तुतीको लागि प्राविधिक तयारी सबै पुरा गरिसकेको छ । साँझ ठिक ६बजेबाट प्रस्तुती सुरु हुने बान्डले जनाएको छ । 


नेपाली मौलिक संगीतलाई लोक र आधुनिक शैलीबाट प्रस्तुती दिने नेपथ्यको प्रस्तुति हेर्न दर्शकहरु निकै लालयित हुने गर्दछन् । आज पनि इटहरीको प्रस्तुती हेर्न कोशी प्रदेशका विभिन्न जिल्ला तथा ठूला शहरबाट दर्शकहरु इटहरीमा भेला हुँदैछन् ।

आजको कन्सर्टमा करिब १० हजार दर्शक आउने आयोजकको अपेक्षा रहेको छ । 

केही दिन अघि सिक्कीमका भएको कन्सर्टमा दर्शकको उत्साहजनक सहभागिताले कोशी प्रदेशका दर्शकहरुलाई पनि हौसला र उत्साहित बनाएको छ ।