सुनसरी । मोरङको सुन्दरहरैचा–९ विराटचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर सेवा आश्रमको स्वर्ण महोत्सवका अवसरमा अन्र्तराष्ट्रिय धार्मिक महोत्सव आयोजना हुने भएको छ । 

आगामी वैशाख १ देखि ७ गतेसम्म अन्तर्राष्ट्रिय धार्मिक महोत्सव आयोजना गरिने स्वर्ण महोत्सव मूल समारोह समितिले जानकारी दिएको छ । महोत्सवमा देश तथा विदेशबाट सन्त–महात्मा, धर्माचार्य र श्रद्धालु भक्तजनको सहभागिता रहनेछ। 


महोत्सव अवधिभर १०८ श्रीमदतारतम सागर पाठ पारायण, वाणी चर्चा, श्रीमद्भागवत कृष्णकथा ज्ञान महायज्ञ, सन्त सम्मेलनसहित विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ। 


प्रणामी दर्शन (निजानन्द सम्प्रदाय) का प्रवर्तक सद्धगुरु  देवचन्द्रजी महाराज हुन् । महामति प्राणनाथले ‘तारतम सागर’का रूपमा दिव्य वाणी संकलन गरेको मानिन्छ। करिब चार सय वर्षअघि सुरु भएको यो दर्शन अहिले विभिन्न देशमा फैलिएको छ।


महोत्सवमा आद्य धर्मपीठ नौतनपुरी धामबाट धर्माचार्य अनन्त श्री विभूषित जगद्गुरु कृष्णमणिजी महाराज, महामंगलापुरी धाम सुरतका गद्दीपति जगद्गुरु आचार्य अनन्त श्री विभूषित सूर्यनारायण दासजी महाराज तथा पद्मावतीपुरी धाम मन्दिर ट्रस्टका परमहंस श्री १०८ सदानन्दजी महाराजलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्त–महात्मा, विद्वान्, उद्योगी, व्यापारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता रहने बताइएको छ।


महोत्सवको तयारीलाई तिव्र बनाइएको  प्रचारप्रसार उपसमितिका संयोजक शिवलाल भट्टराईले जानकारी दिए ।