विराटनगर । विराटनगरको कञ्चनबारीमा रहेको सिटिजन्स बैङ्कमा ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको छ । बैकका कर्मचारीको मिलेमतोमा सो रकम हिनामिना भएको भन्दै प्रहरीमा उजुरी परेको छ । बैक प्रशासनले बैकमा कार्यरत कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालले बताए । उनले भने, हिना मिना भएको भन्दै उजुरी परेको छ । हामी छानबिन गरिरहेका छौ । अहिले नै यसै हो भन्न सक्ने अवस्था रहेन ।
उनका अनुसार अनुसन्धानका लागि आवश्यक कागजात माग भएको र यसैका आधारमा छानबिन प्रक्रिया अगाडि बढेको छ । घोटालामा को को संलग्न भए भन्ने बारेमा अहिले खुली नसकेको कट्टुवालले बताए । बैक स्रोतका अनुसार घोटालामा ५ जना कर्मचारीको संलग्नता देखिएको छ । उनीहरू सवैका विरुद्धमा उजुरी परेको छ ।
प्रहरीले उनीहरूको नाम भने खुलाएको छैन । सिटिजन्स बैक इन्टरनेश्नल कञ्चनबारी शाखामा कार्यरत रोजी कँडेलको नेतृत्वमा सो घोटाला भएको आन्तरिक लेखापरिक्षणमा देखिएपछि उजुरी परेको प्रहरीले जनाएको छ ।
बैङ्कले गरेको आन्तरिक लेखा परीक्षणका क्रममा ठुलो परिमाणमा रकम हिनामिना भएको देखिएपछि बैङ्क प्रशासनले संलग्न कर्मचारीहरूलाई निलम्बन गरेको छ ।
उनीहरूलाई निलम्बन पछि कानुनी कारबाहीका लागि प्रहरीमा उजुरी दिएको छ । हिनामिना भएको रकम असुलउपर गर्न र दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिइएको बैङ्कले जनाएको छ ।
बैङ्क स्रोतका अनुसार कर्मचारीहरूले फिक्स डिपोजिटमा राखेको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल खडा गरी रकम निकाल्ने गरेको पाइएको छ ।

















