विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार अशोक चौधरीले कार्यक्रममा सहभागीलाई देश विरोधी भनेपछि विवाद भएको छ।  बिहीबार इटहरी जेसीजको आयोजनामा सम्पन्न सुनसरी क्षेत्र नं. २ र ३ का उम्मेदवार बिचको ककस कार्यक्रमको अन्त्यमा चौधरीले दिएको अभिव्यक्तिप्रति सहभागीहरू आक्रोशित बनेका थिए। कार्यक्रममा बोल्दै चौधरीले कुनै पनि दलको स्पष्ट बहुमत नआए दलहरू मिलेर सरकार गठन गर्नुपर्ने बताएका थिए।
उनले रास्वपाले यस निर्वाचनमा दुई तिहाइ बहुमतको लक्ष्य राखेको बताएका थिए। उनले यदि देशको निकास,  देशको भविष्य चाहनुहुन्छ भनेँ एउटा पार्टीलाई दुई तिहाइ  दिएर अघि बढ्ने दायित्व  नागरिकले पुरा गर्नु पर्ने बताएका थिए। 
त्यस लगत्तै सहभागीबाट प्रश्नको सही जवाफ नै नआएको भनेर होहल्ला भए पनि चौधरीले उठेर आफ्ना कुरा फेरी दोहोर्‍याएका थिए । 
उनले भने, ‘हामी अहिले दलीय व्यवस्थामा छौँ, सरकार बनाउनको निम्ति  संविधानको धारा बमोजिम यदि कसैको पनि बहुमत आएन भनेँ एक वा एक भन्दा बढी दलहरूसँग मिलेर सरकार बनाउनु पर्ने परिस्थिति आउँछ।’ उनले त्यसका निम्ति यहाँ नेपाली नागरिक हो, राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनावमा दुई तिहाइ मागिरहेको बताए। उनले थपे, ‘यदि तपाईँले परिवर्तन आवश्यक ठान्नु भएको छ भनेँ दुई तिहाइ पुर्‍याउन तपाईँ पनि लाग्नुस्, राष्ट्रिय स्वतन्त्र पार्टी लागेको छ। यदि तपाईँ लाग्नुहुन्न भनेँ तपाईँ अस्थिर सरकार चाहिरहनु भएको छ। तपाईँ देश विरोधी हो ।यसको निम्ति तपाईँ सचेत हुनुपर्छ।’
त्यसपछि उनी विरुद्ध सहभागीहरूले देश विरोधी भनेको भन्दै नारा लगाएका हुन्। ashokk
कार्यक्रममा सहभागीहरूले चौधरीको अभिव्यक्तिलाई आपत्तिजनक र अलोकतान्त्रिक भन्दै ‘राष्ट्रघाती’को आरोप लगाए। नाराबाजीका क्रममा ‘घण्टी मुर्दावाद’का नारा समेत लागेपछि कार्यक्रम अवरुद्ध भएको थियो। 
चौधरीको अभिव्यक्तिप्रति अन्य उम्मेदवारहरूले पनि आलोचना गरेका छन्। उनीहरूले लोकतान्त्रिक प्रतिस्पर्धामा मतदातालाई देश विरोधी ठहर गर्ने भाषा अनुचित भएको टिप्पणी गरेका छन्।
इटहरी जेसीजले सुनसरी क्षेत्र नं. २ र ३ का उम्मेदवारबिच ककस कार्यक्रम आयोजना गरी उम्मेदवारहरूलाई उत्तरदायी बनाउने र मतदातासँग प्रत्यक्ष संवाद गराउने गरी कार्यक्रम राखेको थियो। 
ककस कार्यक्रममा नेपाली काँग्रेसका सुनसरी–२ का उम्मेदवार राजीव कोइराला, नेकपा (एमाले)का सुजन लामा, नेकपाकी सुनसरी–२ कै उम्मेदवार रामकुमारी चौधरी, उज्यालो नेपालका गोपाल तामाङ लगायत विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेदवारहरू सहभागी थिए।