सुनसरी । नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरीमा सेनाको स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको ‘फोटो तथा नेपाली सेना सम्बन्धी प्रदर्शनी’ सोमबारबाट सुरु भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा सेनाले निर्वाह गर्दै आएको भूमिका, विपद् व्यवस्थापनमा खेलेको योगदान, विकास निर्माणमा सहभागिता तथा विभिन्न शान्ति मिसनमा गरेको कार्यसम्पादन सम्बन्धी जानकारी गराइने जनाएको छ ।
प्रदर्शनीमा नेपाली सेनाको इतिहास झल्काउने दुर्लभ तस्बिर तथा सामग्री प्रदर्शन गरिनुका साथै विभिन्न युनिटले प्रयोग गर्ने अत्याधुनिक हतियार, सञ्चार उपकरण, सुरक्षा सामग्री तथा विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्रीको अवलोकन र त्यसको बारेमा सहभागीलाई जानकारी गराइने छ ।
सैनिकहरूले प्रदर्शनात्मक अभ्यास (ड्रिल), विशेष तालिमका नमूना अभ्यास तथा शान्ति मिसन सम्बन्धी जानकारी समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमका क्रममा सेनाले विपद् उद्धार, खोज तथा राहत कार्यमा खेलेको भूमिकाबारे जानकारी दिादै नागरिक–सेना सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
साथै, नेपाली सेनामा भर्ना छनोट प्रक्रिया, आवश्यक योग्यता र अवसरबारे जानकारीमूलक कक्षा समेत सञ्चालन गरिने जनाइएको छ ।
प्रदर्शनीबाट युवापुस्तामा राष्ट्रसेवाप्रति आकर्षण बढाउने, सेनाको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने तथा पारदर्शी र उत्तरदायी संस्थाका रूपमा सेनाको छवि सुदृढ गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
सहभागीहरूले प्रदर्शनी जानकारीमूलक भएको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा विद्यार्थी, सर्वसाधारण तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि गरी २ हजार ५ सय बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
















