सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीको आयोजनामा सुरु भएको १२ औं हिसान स्पोट्र्स मिट अन्तर्गत फुटबलमा स्किल क्याम्पस, पूर्वाञ्चल सेकेण्डरी स्कुल र कस्तुरी कलेजले विजयी सुरुआत गरेका छन् ।
आइतबार इटहरी २ स्थित शान्तिनगर फुटबल खेल मैदानमा भएको उद्घाटन खेलमा स्किल क्याम्पसले ज्ञान दर्पण एकेडेमीलाई ३–२ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ । स्किललाई जित दिलाउन मौसम तामाङ, टेकबहादुर क्षेत्री र सुजल चौधरीले १–१ गोल गरे ।
ज्ञान दर्पणका लागि दीपेश चौधरी र आशिष चौधरीले १–१ गोल गरे पनि त्यो जीतको लागि पर्याप्त हुन सकेन । खेलको म्यान अफ दि म्याच स्किलका मौसम तामाङ घोषित भए । उनले नगद एक हजारसहित मेडल प्राप्त गरे ।
दोस्रो खेलमा पूर्वाञ्चल सेकेण्डरी स्कुलले सुष्मा गोदावरी स्कुललाई १–० ले पराजित गरेको छ ।
पूर्वाञ्चललाई जित दिलाउन निमेश बस्नेतले निर्णायक गोल गरे । उनी खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद एक हजार सहित मेडल प्राप्त गरे ।
तेस्रो खेलमा कस्तुरी कलेजले सिओन कलेजलाई ३–० ले पराजित गर्यो । कस्तुरीका लागि मार्क ठकुरी, चूडामणि पाण्डे र सुजन श्रेष्ठले १–१ गोल गरे । खेलको म्यान अफ दि म्याच चूडामणि पाण्डे चुनिए ।
उनले पनि नगद एक हजारसहित मेडल प्राप्त गरे । स्पोट्र्स मिट अन्तर्गत सोमबार पनि फुटबलका तीन खेल हुनेछन् ।
पहिलो खेल धरान सेकेण्डरी स्कुल र विष्णु मेमोरियल स्कुल, दोस्रो खेल विश्व आदर्श स्कुल र सिबी स्कुल तथा तेस्रो खेल धरान आदर्श कलेज र नास्ट कलेजबिच हुनेछ ।
यसैबिच स्पोर्टस् मिट अन्तर्गत ब्याडमिन्टनमा कस्तुरी कलेजले वर्चस्व कायम गर्दा एथलेटिक्समा पिसजोन आवासीय माबिले ८ स्वर्ण जित्दै प्रथम भएको छ । इटहरी रङ्गशाला परिषरको कवर्ड हलमा सम्पन्न ब्याडमिन्टनमा छात्र तर्फ कस्तुरीका दर्पण केरुङ प्रथम भएका छन् ।
कस्तुरीकै मिसेक चोङवाङ लिम्बु दोस्रो भएका छन् । बिश्वआदर्शका हेन्सन खड्का र सुस्मा गोदावारीका प्रमिश बिक तृतीय भएका छन् ।
छात्रा तर्फ कस्तुरी कलेजकी आर्जु सिग्देलले प्रथम स्थान हासिल गर्दा कस्तुरीकै एञ्जिला राई दोस्रो भएकी छन् । कोसी सेन्ट जेम्सकी बिद्या तामाङ तृतीय हुँदा ग्रीनपिस नमुना कलेजकी सुनिता चौधरी तेस्रो भएकी छन् ।
टेबल टेनिसमा छात्र तर्फ बिश्वआदर्शका प्रसून निरौला प्रथम र प्रतीक ढकाल दोस्रो भएका छन् ।
सुस्मा गोदावारीका हेमराज खड्का र नास्ट कलेज धरानका सोनाल ताम्राकार तेस्रो भएका छन् ।
छात्रातर्फ कस्तुरी कलेजका सुधा पोखरेल प्रथम हुँदा बिश्वआदर्शका सुधा बस्नेत दोस्रो भएका छन् । बिश्वआदर्शकै प्रतिज्ञा सुबेदी र कोसी सेन्ट जेम्सकी बिद्या तामाङ तेस्रो भएकी छन् ।
हिसान स्पोर्टस मिट अन्तर्गत एथलेटिक्सको सिनियर विधाको विभिन्न इभेन्ट्समा ८ स्वर्ण, १ रजत र १ काश्य गरी कूल १० पदकका साथ पिसजोन आवासीय मावि प्रथम भएको छ ।
झुम्काको लर्डबुद्ध स्कलले ४ स्वर्ण, ३ रजत र ३ काश्य सहित दोस्रो भएको छ ।
तेस्रो स्थान हासिल गरेको आरम्भ बिद्या मन्दिर झुम्काले १ स्वर्ण, ३ रजत र १ काश्य पदक हात पारेको छ ।
एथलेटिक्सको जुनियर अर्थात् कक्षा ७ सम्मको खेलमा ३ स्वर्ण, १ रजत र ३ काश्य गरी ७ पदकका साथ बिश्वआदर्श प्रथम भएको छ ।
झुम्काको लर्डबुद्ध दोस्रो र कोसी सेन्ट जेम्स तेस्रो भएको छ ।
स्पोर्ट्स मिट अन्तर्गत क्रिकेट सोमबार देखी हुनेछ ।

















