सुनसरी । तस्करी गरेर नेपालमा गुणस्तरहीन कोइला आयात भइरहेको भन्दै कोसी अञ्चल इँटा उद्योग व्यवसायी सङ्घले आपत्ति जनाएको छ ।
तेस्रो देशबाट ल्याएको गुणस्तरीय कोइला भारतमा बेचेर भारतको गुणस्तरहीन कोइला नेपाल ल्याउने गरिएको उनीहरूले आरोप लगाएका छन् ।
भारतबाट नेपाल भित्रिने कोइला आयात प्रक्रियामा भइरहेको अनियमितता, तस्करी र गुणस्तरहीन कोइलाको कारोबारप्रति इँटा उद्योग व्यवसायी सङ्घले गम्भीर ध्यानाकर्षण गराएको छ।
सङ्घले आज पत्रकार सम्मेलन गर्दै कोइला आयातमा भइरहेको अनियमितता र तस्करी बारे जानकारी गराएको हो ।
सङ्घका अनुसार सुनसरी र मोरङका इँटा उद्योग तथा अन्य सप्लायर्सले अमेरिकाबाट उच्च गुणस्तरको कोइला खरिद गरी भारतको हल्दिया पोर्ट (बन्दरगाह) हुँदै नेपाल भित्र्याउने क्रममा बाटोमै कोइला अदलबदल गर्ने, ट्रकको सिल तोडफोड गरी नक्कली (डुप्लिकेट) सिल प्रयोग गर्ने जस्ता गैर कानुनी गतिविधि भइरहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा विगत केही दिनदेखि हल्दिया पोर्टबाट भारतीय ट्रक नम्बरको तीन वटा सवारीसाधनमार्फत आएको कोइला परीक्षण गर्दा पोर्टमा गरिएको ल्याब परीक्षणभन्दा निकै कम गुणस्तरको पाइएको जनाएको छ।
सो क्रममा केही ट्रक चालकले भारतमै राम्रो कोइला बिक्री गरी खराब कोइला नेपाल ल्याएको स्वीकार गरेको सङ्घको दाबी छ।

सङ्घका अनुसार भारतमा कोइला तथा सिल खोल्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि भारतीय भूमिमै कोइला अदलबदल हुनु र त्यसको प्रत्यक्ष असर नेपाली इँटा उद्योगीहरूलाई पर्नु गम्भीर विषय हो। गुणस्तरहीन कोइला प्रयोग गर्न बाध्य हुँदा उद्योगहरू ठुलो आर्थिक क्षतिमा परेको सङ्घको भनाइ छ।
गलत कार्यमा संलग्न ट्रक र ट्रान्स पोर्ट कम्पनीमाथि छानबिन र कारबाहीको माग गर्दै सङ्घले पत्रकार सम्मेलन आयोजना गरेको बताउँदै
सङ्घका अध्यक्ष खगेन्द्र श्रेष्ठले दोषीमाथि तत्काल कडा कारबाही गर्न, कोइला आयात प्रक्रियालाई पारदर्शी बनाउन तथा उद्योगीहरूको हित संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

















