सुनसरी । इटहरीमा जारी तेस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विश्वआदर्श र नमुना कलेज प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाइनलमा विश्वआदर्शले विराटनगरको कान्तिपुर र नमुनाले दमकको आस्था कलेजलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा कान्तिपुर कलेजलाई ४५ रनले पराजित गर्दै इटहरीको विश्वआदर्श उपाधि नजिक पुगेको हो । विश्वआदर्शले प्रस्तुत गरेको १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको कान्तिपुर ७ विकेट गुमाउँदै १ सय ७ रनमा सीमित बन्यो । कान्तिपुरका लागि मन्नु दासले सर्वाधिक ३८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । सीताराम कामतले १४ रन बनाउँदा निश्चल गुप्ताले ११ रन बनाए । विश्वआदर्शका अनिष कुँवरले ३ विकेट लिँदा भूपाल लुइँटेलले २ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विश्व आदर्शले निर्धारित १७ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५८ रनको योगफल खडा गरेको थियो । विश्व आदर्शका रोशन खत्रीले ५१ रनको अर्धशतकीय इनिङ खेले । भूपाल लुइँटेलले ४७ रन बनाउँदा आकाश सर्राफले २९ रन जोडे । कान्तिपुरका सन्तोष गुप्ताले २ र खेमराज हमालले १ विकेट लिए । प्लेयर अफ द म्याच भूपाल लुइँटेल घोषित भए ।
शुक्रबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा इटहरीको नमुना कलेजले आस्था कलेजमाथि ४ रनको रोमाञ्चक जित निकाल्दै विश्व आदर्शसँगको उपाधि भिडन्त पक्का गरेको हो । इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले १७ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।
नमुनाका कप्तान गौरव कटुवालले सर्वाधिक ६१ रन बनाएर अविजित रहे । ४४ बलको सामना गरेका उनले ३ छक्का र ६ चौका प्रहार गरे । कृष्ण विष्टले १९ र राजु विकले १४ रन बनाए । आस्थाका आशिष राणामगरले २ विकेट लिए । जवाफमा १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको आस्थाले १७ ओभरमा ४ विकेट गुमाउँदै १ सय ३१ रन मात्र बनाउन सक्यो । आस्थाका भूपाल दंगालले अविजित ५० रन बनाउँदा सार्थक न्यौपानेले २४ रन बनाए । प्लेयर अफ द म्याच गौरव कटुवाल घोषित भए । नमुना र विश्वआदर्शबीचको उपाधि भिडन्त शनिबार हुने आयोजक इटहरी आदर्श जाइन्ट्सले जनाएको छ ।

















