इटहरी । झापाको बिर्तामोड नगरपालिका रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–२ रुद्रबहादुर तामाङ रहेका छन्। उनी ग्यारेजभित्र सञ्चालित क्यान्टिनमा काम गर्दै आएका थिए।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बुधबार बिहान करिब ४ः१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित क्यान्टिनमा आगलागी भएको हो। प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा बिहान ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीको प्रारम्भिक कारण विद्युत् सर्ट भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।आगलागीबाट ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायलको गोदाममा समेत आगोको सामान्य असर परेको थियो।











