विराटनगर । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा भएको जहाज दुर्घटनामा घाइते भएकाहरूको उपचारमा बुद्ध एयरले बेवास्ता गरेको छ। काठमाडौँबाट चन्द्रगढीका लागि गत शुक्रबार राति उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको थियो। दुर्घटनामा को-पाइलटसहित सात जनालाई अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना नभएकामध्ये केहीको हात र खुट्टामा चोट लागेको छ। तर घाइते भएका र उपचार गराउनुपर्नेहरूको उपचारमा बुद्ध एयरले बेवास्ता गरेको पीडितहरूले बताएका छन्।
जहाज दुर्घटनामा परेर घाइते भएका भोजराज सापकोटाले अहिलेसम्म बुद्ध एयरले कुनै खोजखबर नगरेको बताए। उनको देब्रे हातको एउटा औँला 'फ्याक्चर' भएको छ। यस्तै उनको औँलाको लिगामेन्ट समेत च्यातिएको छ। उनले दुर्घटनापछि झापाकै बीएण्डसी अस्पतालमा उपचार गराएका थिए। झापामा उपचार गराएपछि काठमाडौँ फर्किएका सापकोटाले औँलाको शल्यक्रिया (अप्रेसन) गर्नुपर्ने बताए। उनले भने, "अहिले ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा देखाइरहेको छु। अप्रेसन गर्नुपर्छ भनिएको छ, तर मिति लिइसकेको छैन।"
उनले दुर्घटना भएपछि यात्रीहरूको अवस्थाका बारेमा सोधखोज गर्नु विमान कम्पनीको दायित्व भएको बताए। उनले भने, "कम्तीमा कर्पोरेट रेस्पोन्सिबिलिटी (संस्थागत उत्तरदायित्व) त हुनुपर्ने हो, तर अहिलेसम्म त्यस्तो केही भएको छैन।" उनले सबै यात्रीको सम्पर्क विवरण विमान कम्पनीसँग हुने भएकाले त्यत्रो दुर्घटनामा परेकाहरूको बारेमा सोधखोज गर्नु कम्पनीको कर्तव्य हुने बताए। उनले थपे, "कति मानिस त मानसिक समस्यामा समेत परेका होलान्, मरेर बाँचेका हुन् नि त!" उनले बुद्ध एयरले अहिलेसम्म जिम्मेवारी नदेखाएकोमा गुनासो गरे।
काठमाडौँबाट भद्रपुरका लागि उडेको उडान नम्बर ९०१ को एटीआर ७२ जहाज शुक्रबार राति ९:१० बजे अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटना भएको हो। दुर्घटनामा परेका को-पाइलटसहित सात जना अस्पताल भर्ना भएका थिए। उनीहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। सामान्य घाइते भएका केहीले भने आफैँ उपचार गराएका थिए। आफैँ उपचार गराएकाहरूलाई भने बुद्ध एयरले कुनै खोजीनीति गरेको छैन।