सुनसरी – तेस्रो इन्टर कलेज टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा जनता बहुमुखी कलेज इटहरीले विश्व आदर्श कलेज ‘बी’लाई पराजित गरेको छ।
जनताले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो। जनताका लागि उज्वल श्रेष्ठले सर्वाधिक ३० रन जोड्दा आभास गेलालले २७, सुमन पौडेलले २५ र निमा तामाङले २५ रनको योगदान दिए। बलिङतर्फ विश्व आदर्शका पल सिग्देल र चिरञ्जीवी शाहले समान ३–३ विकेट लिएका थिए।
१५० रनको लक्ष्य पछ्याएको विश्व आदर्श कलेज १७ ओभरमै सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो। यससँगै जनता बहुमुखी कलेजले सहज जित हात पारेको हो।
आजकै दोस्रो खेलमा पुर्वाञ्चल इन्जिनियरिङ कलेज धरान र आस्था कलेज दमकबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको पुर्वाञ्चल इन्जिनियरिङ कलेज १६ ओभरमै सबै विकेट गुमाउँदै ७८ रनमै सीमित भयो। अजित अटलले १७, बिबस भण्डारीले १३ र कासी सन्जेलले १२ रन बनाए।
बलिङतर्फ आस्था कलेजका सुगम बुढाथोकीले ३ विकेट लिँदा छबिलाल खड्का, रञ्जन धमला र सौजन्य घिमिरेले समान २–२ विकेट लिए भने आशिष रानाले १ विकेट हात पारे।
७९ रनको लक्ष्य आस्था कलेजले ११ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो। आस्थाका सन्तोष गजमेरले १७, भुपाल दंगालले १५ र हिमान्शु गिरीले ११ रन जोडे। बलिङतर्फ पुर्वाञ्चल इन्जिनियरिङका अजित अटलले २ विकेट तथा कासी सन्जेल र अनुपम भुजेलले समान १–१ विकेट लिएका थिए। खेलको म्यान अफ द म्याच आस्था कलेजका सुगम बुढाथोकी घोषित भए।
यससँगै विश्व आदर्श कलेज ‘ए’ इटहरी, कान्तिपुर कलेज विराटनगर, नमुना कलेज इटहरी र आस्था कलेज दमक सेमिफाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनल खेल भोलि हुने आयोजकले जनाएको छ।
पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेजको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसको सहकार्यमा आयोजना गरिएको हो।
प्रतियोगिताले कोशी प्रदेशका कलेजहरूबीच क्रिकेट प्रतिभा उजागर गर्दै खेलकुदमार्फत शैक्षिक क्षेत्रलाई समेत प्रोत्साहन गर्ने लक्ष्य लिएको आयोजक इटहरी आदर्श जाइन्ट्सले जनाएको छ।

















