सुनसरी ।  स्थानीय तहमा हस्तान्तरण भई दर्ता भएका ई–रिक्सालाई पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्ने व्यवस्था मिलाइएको छ।

यातायात व्यवस्था विभागले जारी गरेको निर्देशनअनुसार स्थानीय तहमा दर्ता भएका ई–रिक्साको अभिलेख अद्यावधिक गर्दै सवारी दर्ता नम्बर कायम हुने गरी पुनः दर्ता प्रक्रिया अघि बढाइनेछ। 

यसैबारे सचेतना जगाउन यातायात ब्यवस्था कार्यलय इटहरीले शुक्रबार सचेतना अभियान सुरु गरेको छ ।

कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा इटहरीको बिराटनगर लाइनमा कार्यक्रम गरिएको हो ।

निर्देशनमा भनिएअनुसार, स्थानीय तहले जारी गरेका सबै कागजात (ब्लुबुक) का आधारमा यातायात व्यवस्था कार्यालयले दर्ता प्रक्रिया सम्पन्न गर्नेछ।

स्थानीय तहबाट जारी भएको सवारी दर्ता प्रमाण–पत्रमा यातायात कार्यालयले दिएको सवारी दर्ता नम्बर उल्लेख भएको अवस्थामा सोही नम्बर कायम राखी ब्लुबुकको प्रतिलिपि उपलब्ध गराइने व्यवस्था गरिएको छ।

त्यस्तै, यातायात कार्यालयबाट जारी गरिएको जाँचपास प्रमाण–पत्रको सक्कल पेश गरेमा पनि सोही प्रमाणका आधारमा दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण–पत्रको प्रतिलिपि जारी गरिनेछ। स्थानीय तहमा दर्ता भई पछि यातायात कार्यालयमा हस्तान्तरण भएका ई–रिक्साको अभिलेख स्थानीय तहमा जेन–जी आन्दोलनका क्रममा जलेर नष्ट भएको अवस्थामा समेत कर चुक्ता गरेको प्रमाणका आधारमा सक्कल सवारी दर्ता प्रमाण–पत्र (ब्लुबुक) सहित पुनः दर्ता गर्न सकिने व्यवस्था छ।

पुनः दर्ताका क्रममा सेवाग्राहीले नागरिकताको फोटोकपी, दुई प्रति हालसालै खिचिएका फोटो, सवारी दर्ता प्रमाण–पत्रको फोटोकपी, इन्जिन र चेसिस नम्बर देखिने फोटो तथा सवारी साधनको पूर्ण भाग देखिने फोटो संलग्न गर्नुपर्ने यातायात ब्यवस्था कार्यलय इटहरीले  जनाएको छ ।

निर्देशनमा उल्लिखित व्यवस्थाबाहेक सवारी दर्ता, नवीकरण, प्रतिलिपि जारी तथा नामसारीसम्बन्धी कार्यमा कार्यालय प्रमुखले जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्नुपर्ने उल्लेख छ। साथै, सिटी सफारी (ई–रिक्सा) मा आयकर नलाग्ने स्पष्ट गरिएको छ।