सुनसरी । सहारा नेपाल बचत तथा ऋण सहकारीको बेलबारी सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ ।
बेलबारी सेवा केन्द्रको २९ औँ साधारण सभा विहिबार बेलबारी बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो ।
साधारण सभामा उत्कृष्ट बचतकर्ता तथा नियमित व्याज तिर्ने सदस्यहरूलाई सम्मान गरिएको थियो । संरक्षित पूँजीकोषबाट बढी बोनस प्राप्त गर्ने सदस्यको रूपमा सीता देवी निरौला र सबैभन्दा बढी बचत गरी बढी ब्याज तथा बोनस प्राप्त गर्ने सदस्यको रूपमा दिपेन्द्र गिरीलाई कार्यक्रममा सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी समाजसेवी सीता सुवेदीले सम्मानीत गर्नुभएको थियो ।
साधारण सभामा प्रस्तुत भएका विभिन्न १८ वटा प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । सभामा अध्यक्षको बार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम बारे केन्द्रिय कार्यलयका कोषाध्यक्ष डम्बर बहादुर देउजाले प्रस्तुत गरेका थिए ।
यस्तै लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सरीता गिरीले प्रस्तुत गरेकी थिइन्, भने संस्थाको ऋण उपसमिति तथा लेखापरीक्षण प्रतिवेदन केन्द्रिय कार्यलयका उपनिर्देशक ईश्वर प्रसाद भट्टराईले प्रस्तुत गरेका थिए ।
साधारण सभामा विभिन्न साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको सेवा केन्द्रकी प्रमुख सरीता गिरीले जानकारी दिइन् । साधारण सभाको अध्यक्षता सेवा केन्द्र उपसमिति सदस्य रिता दाहालले गरेकी थिइन् ।

















