विराटनगर । कोशी प्रदेशमा आधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित पाँच करोड रुपैयाँको लगानीमा विराट स्पोर्ट्स जोनको सम्पुर्ण तयारी पुरा भएको छ ।
३० कट्ठा क्षेत्रफलमा तयार गरिएको यो संरचना प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ दिशामा अघि बढाउनेगरी निर्माण गरिएको अध्यक्ष हरि बजगाईंले जानकारी दिनुभयो ।
स्पोर्ट्स जोनलाई सुरक्षित, सुव्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विस्तार गरिएको छ ।
विराट स्पोर्ट्स जोनको मुख्य आकर्षण अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको क्रिकेट एकेडेमी हो।
यस एकेडेमीमा राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीसहित अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन्।
बहु–पिच सुविधा, अत्याधुनिक उपकरण र व्यवस्थित तालिम संरचनासहित यो एकेडेमीले प्रदेशमा क्रिकेट प्रतिभा विकासलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
यस्तै स्पोर्ट्स जोनले पूर्वाञ्चलमै पहिलोपटक गो–कार्ट ट्र्याक सञ्चालनमा ल्याएको छ ।
जुन सबै उमेरका खेलकुद तथा रोमाञ्च–प्रेमीका लागि आकर्षक केन्द्र बन्ने अनुमान गरिएको छ।
आधुनिक सुरक्षा मापदण्ड, व्यवस्थित ट्र्याक र सुरक्षात्मक उपकरणसहित यो सेवा प्रदेशकै नयाँ अनुभवको रूपमा प्रस्तुत गरिएको छ।

















