सुनसरी । सहलेस फुटबल क्लब सिरहामाथी जीत निकाल्दै गाईघाट युनाइटेड अन्तराष्टिय आमन्त्रण प्रथम गछिया गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
मोरङको सुन्दरहरैचास्थित गछिया बजार खेल मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा गाईघाट युनाइटेडले सहलेसमाथी १–० को जीत निकाल्दै उपाधि नजिक पुगेको हो ।
उदयपुरे टिम गाईघाटलाई फाइनल यात्रा तय गराउन सुनिल खड्काले थ्री किक मार्फत गरेको गोल नै निर्णायक बन्न पुग्यो । खड्काले खेलको ६९ औँ मिनेटमा पाएको थ्री किकलाई उत्कृष्ट ढङ्गले गोल गरेका थिए ।
खेलको म्यानअफद म्याच गाईघाटका विनोद राई घोषित हुँदै नगद ५ हजार १ सय रुपैयाँ हात पारे ।
गाईघाटले अब उपाधिका लागि शनिवार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबिचको अन्तिम सेमिफाइनल विजेतासँग सोमबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेलको विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

















