सुनसरी । सातौं संस्करणको कोशी प्रदेश अन्तरविद्यालय डीआईजी कप फुटबल प्रतियोगितामा १६ विद्यालयले प्रतिस्पर्धा गर्ने भएका छन् ।

१६ वर्षपछि आगामी पुस ९ देखि १९ सम्म सञ्चालन हुने प्रतियोगितामा कोसी प्रदेशका १६ विद्यालयले नै प्रतिस्पर्धा गर्ने आयोजक नेपाल पुलिस स्कुल धरानले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

विगत १६ वर्षदेखि हुन नसकेको प्रतियोगितालाई यसपटकदेखि पुनः निरन्तरता दिएको खेल संयोजक सागर लामा कार्कीले बताए ।

विभिन्न कारणले २०६६ सालमा छैटौं संस्करणपछि प्रतियोगिता हुन सकेको थिएन ।

विद्यालय तहबाटै खेलकुदको प्रवर्द्धन गर्दै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता २०५८ सालदेखि प्रारम्भ भएको थियो ।

नेपाल प्रहरी प्रदेश कार्यालय धरानको खेल मैदानमा हुने प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूहका कक्षा १० सम्मका विद्यार्थीले खेल्न पाउने आयोजकले जनाएको छ । तर प्रतियोगितामा एन्फाको कुनै पनि लिगमा सहभागी भएका विद्यार्थी खेलाडीले भने सहभागिता जनाउन नपाउने कार्कीले बताए ।

प्रतियोगिताको विजेताले ८१ हजार ५ रुपैयाँ तथा उपविजेताले ४१ हजार ५ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट हुनेलाई जनही २ हजार ५ रुपैयाँ प्रदान गरिने र विजेता खेलाडीलाई कक्षा ११ मा अध्ययन गर्न ५० प्रतिशत छात्रवृत्तिसमेत उपलब्ध गराइने आयोजकले बताए ।