सुनसरी  । बाला चतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका १ जनाको डुबेर मृत्यु भएको छ ।

रामधुनीमा नुहाउने क्रममा बुधबार सुनसरी खोलामा डुबेका २ जनामध्ये १ जनालाई प्रहरीले जीवितै उद्धार गरेको छ ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार बालाचतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका ३ जना तीर्थालु बिहान नहुाउन खोलामा पसेका थिए ।

नुहाउनलाई खोलामा पसेकामध्ये मोरङको सुन्दरहरैँचा नगरपालिका–३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको मृत्यु भएको थियो । डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको डीएसपी खड्काले बताए ।

त्यस्तै, खोलामा डुबेका सुनसरीको इनरुवा नगरपालिका–५ का ५८ वर्षीय भीमराज काफ्लेलाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।

जीवितै उद्धार गरेर अस्पताल पुर्याइएका उनी सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

प्रहरीका अनुसार सुनसरीकै इटहरी उपमहानगरपालिका–१३ का रोहित काफ्ले भने आफैं खोलाबाट बाहिर निस्किन सफल भएका थिए ।