सुनसरी । सशस्त्र प्रहरी बलले राजस्व चुहावट नियन्त्रणको लागि भन्दै सीमा नाकामा खटाइएका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूले काम सुरु गरेका छन् ।
जेनजी आन्दोलनपछि सीमा नाकाबाट राजस्व चुहावट हुन थालेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले यसलाई गम्भीरतापूर्वक लिँदै भारतीय सीमा नाकामा एसएसपीहरूमा दिगविजय सुवेदी, माधवप्रसाद पौडेल, रविनराज कर्णजीत र गंगाराम श्रेष्ठलाई खटाएको थियो ।
राजस्व सङ्कलनमा अभिवृद्धि गर्न, सीमा सुरक्षा, सीमा अपराध, राजस्व चुहावट नियन्त्रण, अवैध चोरी निकासीलगायत अन्य गतिविधिको स्थलगत अनुगमन सहित सीमा अनुगमन, तोकिएका प्रस्तावित सीमा सुरक्षा गुल्महरूको कामकारबाहीको केन्द्रीय अनुगमनका लागि उनीहरूलाई गत बुधवार खटाइने निर्णय भएको थियो ।

सुवेदीलाई झापाको काँकडभिट्टा र मोरङको रानीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा खटाइएको छ । पौडेललाई नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र कर्णजीतलाई रुपन्देहीको डण्डा, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहस्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा खटाइएको छ । श्रेष्ठलाई कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा खटाइएको छ ।
जिम्मेवारी तोकिएका कार्यालयहरू आफै उपस्थित भई सम्बन्धित बाहिनी मुख्यालयहरूसँग आवश्यक समन्वय गरी काम सुरु गरिएको एसएसपी सुबेदीले जानकारी जानकारी दिए ।
सीमा इलाकाको विस्तृत अध्ययन गरी सशस्त्र प्रहरी बल प्रधान कार्यालयलाई दैनिक रूपमा रिपोर्टिङ र साप्ताहिक रूपमा प्रतिवेदन पेस गर्नुपर्ने जिम्मेवारी अनुरूप दिउसो र राती पनि नाका अनुगमन सुरु गरिएको उनले बताए ।

आइतबार दिउसो सुनसरीको भण्टाबारी र श्रीपुर नाका अनुगमन गरेको र राती १२ बजेसम्म विराटनगर रानी नाका अनुगमन गरेको उनले बताए । सोमबार मोरङका १३ वटै बीओपी प्रमुखलाई भेला गराई चोरी तस्करी नियन्त्रणमा कडाइको साथ काम गर्न निर्देशन दिएको जानकारी दिए ।
सोमबार नै मोरङ उद्योग व्यापार सङ्घका व्यवसायी, प्रमुख जिल्ला अधिकारी र भारतीय सीमा सुरक्षा बल एसएसबीका अधिकारीसँग द्विपक्षीय भेट गरी चोरी तस्करी नियन्त्रणमा समन्वय गर्नेबारे छलफल भएको सुबेदीको भनाई छ ।

















