बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज महिला फुटबलको फाइनल खेल हुँदैछ ।

झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (सोमबार) दिउँसो २ः३० बजेबाट सुरू हुनेछ ।

फाइनलमा दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि आमनेसामने हुँदैछन् ।

आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुुसार आजको खेलमा झापाको फुटबलप्रेमीहरूको ठुलो उपस्थिति रहने अपेक्षा गरिएको छ ।
नेपाल पुलिस क्लबले क्वाटरफाइनलमा चर्च बोइज युनाइटेडलाई ८–० को फराकिलो अन्तरले हरायो । त्यस्तै, सेमिफाइनलमा संकटा क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
एपिएफ फुटबल क्लबले क्वार्टर फाइनलमा सिक्किम क्लबलाई ७–० को भारी अन्तरले हरायो ।

सेमिफाइनलमा त्रिभुवन आर्मी एफसीसँगको रोमाञ्चक भिडन्तमा एपिएफले पेनाल्टी सुटआउटमा जित हाँसिल गर्दै फाइनलमा स्थान बनाएको हो ।
आयोजक समितिका अनुसार दर्शकका लागि टिकट दर सामान्यतर्फ ३०० र ५०० रुपैयाँ तथा भिआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ ।
विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।