सुनसरी । अपाङ्गता भएका व्यक्तिहरूको लागि कोसी प्रदेशबाट निःशुल्क कृत्रिम हात वितरण कार्यक्रम सुरु गरिएको छ ।
करुणा फाउन्डेसन नेपालले जर्मन ह्यान्डल प्रोजेक्टको सहकार्य तथा प्रदेश तथा स्थानीय तहहरूको समन्वयमा कोसी प्रदेशबाट कार्यक्रम सुरु गरेको हो । पहिलो चरणमा सोमबारबाट इटहरीमा सुरु कार्यक्रमको कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले उद्घाटन गरेका छन् । देशभरका ४ सय २८ जनालाई कृत्रिम हात वितरण गर्ने घोषणा गरेको फाउन्डेसनले कार्तिक २६ गतेसम्म पहिलो चरणमा कोसी प्रदेशका २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने निर्देशक योगेन्द्र गिरीले जानकारी दिए ।
जसअन्तर्गत भोजपुरका १०, इलामका ३, झापाका ५८, खोटाङका २५, मोरङका १३, ओखलढुङ्गाका १७, पाँचथरका २१, सोलुखुम्बुका १५, सुनसरीका ६, तेह्रथुमका २ र उदयपुरका २५ जना अपाङ्गता भएका व्यक्तिहरूका लागि कृत्रिम हात जडान गरिने फाउन्डेसनले जनाएको छ ।
जर्मन, न्युजिल्याण्ड र युगान्डाका विज्ञहरूद्वारा जडान गरिने हात हल्का, सहज र प्राकृतिक देखिने खालका हुने जनाइएको छ ।
कृत्रिम हात पाएका व्यक्तिहरूले खाना पकाउने, लेख्ने, वस्तु समात्ने, कपडा लगाउने, खेतीपाती तथा व्यावसायिक कामहरूमा सहजता पाउने विज्ञहरूको भनाई छ ।

















