सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संस्थाको नियमविपरीत कार्य गर्ने बरिष्ठ चिकित्सकसहित पाँच जना कर्मचारीलाई बर्खास्त गरेको छ ।

नियम विपरीत काम गर्ने तीन जनामाथि विभागीय कारबाही अगाडी बढाइएको प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिनुभयो ।

बर्खास्तमा पर्नेमा प्रतिष्ठानका स्त्री रोग विशेषज्ञ तथा पूर्व–रजिस्ट्रार प्रा.डा. मोहन्चन्द्र रेग्मी, प्रतिष्ठानकै स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनकी असिस्टेन्ट प्रोफेसर तथा डा. रेग्मीकी पत्नी लक्ष्मी सुवेदी रहेका छन ।

यस्तै प्रतिष्ठानको नियम उल्लङ्घन गर्दै अनुशासनहीन कार्य गर्ने अन्य कर्मचारीहरू दिलीप परियार, किरण भट्टराई र सुरेन बास्फोर पनि बर्खास्तीमा परेका छन् ।

ती कर्मचारीहरूले काममा लापरबाही, प्रशासनिक नियम उल्लङ्घन र अनुशासनहीन व्यवहार गरेको आरोपमा बर्खास्तीको कारबाही गरिएको संग्रौलाले बताए ।

यस्तै, हाडजोर्नी विभागका प्रमुख डा. रोशन कलवार र शाखा अधिकृत कान्तलाल चौधरीमाथि एक ग्रेड घटाई विभागीय कारबाही गरिएको छ ।

उनीहरूले समेत पदको दुरुपयोग र आन्तरिक नियमविपरीत काम गरेको पाइएको र त्यसअनुसार कारबाही गरिएको प्रतिष्ठानले जनाएको छ ।