सुनसरी । यस वर्ष फूलको मूल्य अचाक्ली महंगो भएको छ । मागअनुसारको उत्पादन नहुँदा फूल महंगो भएको दाबी व्यापारीको छ । तर फ्लोरिकल्चर एसोसिएसनले व्यापारीले नै मूल्य बढाएको हुनसक्ने बताएको छ ।

तिहारको लक्ष्मी पूजाका दिन फूल र मालाको माग उच्च हुन्छ । लक्ष्मीपूजा गर्न घरदेखि पूजाकोठासम्मलाई फूलले सिंगारिन्छ । सयपत्री, मखमली, गोदावरी, कमललगायतका फूलको खरिद बिक्री पनि यही दिन सबैभन्दा बढी हुन्छ । 

यही मौका छोपेर व्यापारीले सयपत्री फूल प्रतिकिलो एक हजार रूपैयाँसम्ममा बिक्री गरेका छन् । त्यसैगरी मखमली फूलको एउटा माला नै एक सय रूपैयाँभन्दा बढीमा बिक्री भएका छन् । त्यस्तै कमलको फूल प्रतिगोटा एक सय रूपैयाँमा बिक्री भइरहेको छ । जबकी यसअघिसम्म सयपत्रीको फूल प्रतिकिलो ४ सय रूपैयाँको हाराहारीमा बिक्री हुने गरेको थियो ।

फूलको मूल्य बढेपछि उपभोक्ता भने मारमा परेका छन् । नभइ नहुने समयमा व्यापारीले मनलाग्दी मूल्य तोकेर फूल बिक्री गर्दा उपभोक्तालाई आर्थिक भार थपिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले देश फूलमा लगभग आत्मनिर्भर भइसकेको जनाएको छ । 

सरकारले पनि विदेशबाट फूल आयातमा कडाइ गरेको छ । चाडपर्वअघिको बाढी पहिरोलगायतका कारण देखाएर व्यापारीले नै फूलको मूल्य बढाएको हुनसक्ने दाबी एसोसिएसनको छ । फूलको मूल्य बढ्दा पनि किसानले भने सोही अनुसारको मूल्य पाएका छन् कि छैनन् भन्ने अनुगमन भएको छैन ।