सुनसरी । अविरल वर्षाका कारण आएको बाढीले स्थानीय किसानहरूले ठुलो आर्थिक नोक्सानी ब्योहोर्नुपरेको भन्दै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले बैङ्क तथा वित्तीय संस्थाहरूलाई कृषकहरूको ऋणको किस्ता र ब्याज तिर्ने अवधि बढाउन आग्रह गरेको छ ।
गत असोज १८ र १९ गते आएको भीषण वर्षा र बाढीका कारण किसानहरूको धान, तरकारी, तथा फलफूल खेतीमा ठुलो क्षति पुर्याएकोले किसानहरू गम्भीर आर्थिक सङ्कटमा परेको उल्लेख गर्दै असोज महिनाको किस्ता तथा ब्याज तिर्ने समय सीमा पुनः निर्धारण गरी राहत प्रदान गर्न सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाहरूलाई आग्रह गरिएको हो ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले बैङ्क तथा बितिए संस्थाहरूलाई पत्र पठाइ बाढीपीडित किसान, व्यापारी र मजदुरहरूलाई तत्काल ऋण तिर्ने अवस्था नभएकाले पुनर्विचार गर्न आग्रह गरेका छन् ।
अध्यक्ष आजादले पत्रमा उल्लेख गरेका छन् “बाढीले किसानहरूको पुँजी नै नष्ट भएको छ । यस्तो अवस्थामा उनीहरूलाई बैङ्क किस्ता र ब्याज तिर्न बाध्य पार्नु अन्याय हुनेछ” ।
गाउँपालिकाले स्थानीय किसान तथा मजदुरहरूले पालिकामा आग्रह गरेपछि बैङ्क तथा बितिए संस्थाहरूलाई लचिलो नीति अपनाउन अनुरोध गरेको जनाएको छ ।
गाउँपालिकाले जिल्लाका इनरुवा नगरपालिका, कोसी गाउँपालिका, हरि नगर गाउँपालिका लगायत क्षेत्रका बैङ्क तथा वित्तीय संस्थाहरूमा पत्र पठाई यस्तो आग्रह गरिएको अध्यक्ष अजा दले जानकारी लिए ।
बाढी तथा डुबानले सुनसरीका किसानले करोडौँको क्षति ब्योहोर्नुपरेको छ ।
क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।

















