सुनसरी– स्थानीयको प्रतिकार पछि ठुलो आगजनी हुनबाट जोगिएको भाटभटेनी सुपर मार्केटको इटहरी शाखामा किनमेल सुरु भएको छ । 
जेनजी आन्दोलनको क्रममा आंशिक तोडफोड र चोरीबाट क्षति बेहोरेको इटहरी भाटभटेनीले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै शनिवारबाट विक्री सुरु गरेको हो ।
 शनिवार दिउँसो २ बजेबाट नियमित रूपमा किनमेल सुरु भएको भाटभटेनी व्यवस्थापनले जनाएको छ ।
 मङ्गलवार रातीसम्म आगलागीको प्रयास गरेका आन्दोलनकारीबाट स्थानीयले भाटभटेनीलाई जोगाएका थिए ।
 स्थानीयलाई धन्यवाद दिँदै भाटभटेनीले सेवाग्राहीलाई सेवा लिनको लागि अनुरोध गरेको छ । 
कोसी प्रदेशमा रहेका पाँच वटा शाखा मध्ये इटहरी मात्र सुचारु भएको छ । 
दमक, बिर्तामोड, धरान र विराटनगरमा आगलागी भएको कारण अझै केही महिना पछि मात्र सञ्चालनमा आउने बताइएको छ ।
                 
                     
                            
                                                             
        





 
        










