सुनसरी । केही दिनयता कैदी बन्दीहरुमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या, बान्ता हुने जस्ता लक्षण देखिएको सुनसरीको झुम्का कारागारमा थप एक जना कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जबरजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका सप्तरी राजविराज ८ बस्ने वर्ष ४६ को जलेश्वर यादव रहेका छन् । बुधवार दिउसो बहोस् भएपछि उनलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उनको उपचारको क्रममा बुधवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि गत सोमबार पनि दुई जना कैदी बन्दीको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा सुनसरी गढी गाउँपालिका ६ बस्ने वर्ष ४८ को रामदेव उराँव र धरान निवासी वर्ष २४ को सागर राई रहेका थिए ।
उराव कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका थिए । राई लागु औषध मुद्दामा पुर्पक्षको लागी कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
शनिवार राती श्वासप्रश्वासमा समस्या देखिएपछि उराँवलाई उपचारको लागी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उरावको उपचारकोक्रममा सोमबार बिहान सवा १२ बजे मृत्यु भएको थियो ।
लागु औषध मुद्धामा पुर्पक्षको लागी कारागारमा रहेको अर्का कैदी राईलाई बान्ता हुने, शरीर नचल्ने समस्या आएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारकोक्रममा सोमबार बिहान मृत्यु भएको थियो । 
कारागारमा चार दिनको अवधिमा तीन जनाको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले अनुगमन गरी बुधवार राती देखी नै स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ ।
कारागारको दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले जानकारी दिए ।
कारागारमा बिहानसम्म ५ सय ५३ जना कैदीको स्वास्थ्य परीक्षण गरिएको र उनीहरूको रिपोर्ट आएपछि बिरामीको कारण खुल्ने उनले बताए ।
झुम्का कारागारको दुवै ब्लकमा गरी १ हजार ७ सय ९४ जना कैदी रहेका छन् ।