सुनसरी । हिमशिखर इङ्लिस स्कुलले तेस्रो संस्करणको केआइइसी सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
इटहरीमा मंगलबार सम्पन्न फाइनल खेलमा हिमशिखरले खनार सनसाइन सेकेण्डरी स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । हिमशिखरको यो लगातार तेस्रो उपाधि हो ।
पहिलो, दोस्रो र तेस्रो संस्करणको फाइनलमा लगातार च्याम्पियन बनेसँगै हिमशिखरले उपाधि माथि ह्याट्रिक गरेको छ । 
इटहरी काब्यबाटिका स्थित पाथीभरा फुटसलमा भएको फाइनल खेलमा हिमशिखरलाई उपाधि जिताउन म्यान अफ द म्याच आयुस राईले निर्णायक गोल गरे । उपाधिसँगै हिमशिखरले नगद ४० हजार रुपैयाँ र आकर्षक शिल्ड प्राप्त गरेको छ ।
उपबिजेतामा चित्त बुझाएको सनसाइनले २० हजार रुपैयाँ पाएको छ ।
aa
 प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हिमशिखरका संम्योग राई घोषित भए । उनले नगद २५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरे ।
उत्कृष्ट गोलकिपर सनसाइनका आशिष् मगर र सुमन चौधरी सर्वाधिक गोलकर्ता घोषित भए । उदयमान खेलाडी हिमशिखरका रायन क्षेत्री भए । उनीहरूले जनही २ हजार रुपैयाँ पाए । कस्तुरी एकेडेमीले फेयर प्ले टिमको उपाधि पायो ।
विजेता तथा उपविजेता टिमलाई कार्यक्रममा प्रमुख अतिथि इटहरी वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेल, एन्फा कोसीका सहमाहासचिव केशव कार्की, पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष अर्जुन सुबेदी, प्रेस युनियन सुनसरी अध्यक्ष ध्रुव ढकाल, केआइइसी इटहरीका उमेश भण्डारी लगायतले पुरस्कार वितरण गरे ।
दुई दिनसम्म चलेको प्रतियोगितामा सुनसरीका २८ विद्यालयले सहभागिता जनाएको आयोजक अल स्पोर्टस कलेक्सनका प्रमुख विमल मगरले जानकारी दिए ।