सुनसरी । पूर्वी तराई जिल्लाबाट पटक-पटक ठूलो परिमाणमा नक्कली नेपाली नोट बरामद भए पनि प्रहरी मुख्य गिरोहसँग पुग्न सकेको छैन । 

भारतीय सीमावर्ती क्षेत्रका जिल्लाबाट नक्कली नेपाली नोटसहित केही कारोबारी पक्राउ गरे पनि प्रहरी अहिलेसम्म मुख्य गिरोहसम्म पुग्न नसकेको हो ।

गत साता सुनसरीको सीमावर्ती क्षेत्र भीमनगर नाकाबाट ३८ थान नक्कली नेपाली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गर्‍यो । गत वर्ष पनि सुनसरीमा भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा एक करोड ८२ लाख ५१ हजार बराबरको नक्कली नोट फेला परेको थियो । 

फेला पारेको नोट सबै एक हजार दरको थियो । सुनसरी प्रहरीले नै गत वर्ष असोजमा इटहरीबाट १५ लाख बराबरको नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको थियो । झापा, मोरङ र सुनसरीबाट प्रहरीले नक्कली नोट कारोबारमा संगलग्न केही भरियालाई पक्राउ गरे पनि मुख्य गिरोहसम्म प्रहरी अझै पुग्न सकेको छैन ।

भारतीय सिमावर्ती जिल्लामा ठूलो परिमाणमा नक्कली नेपाली नोट फेला पर्नेक्रम बढेपछि प्रहरीले विशेष टोली नै परिचालन गरेर कारोबारीको खोजी तिव्र पारेको जनाएको छ । नक्कली नोट कारोबार गर्ने ठूलो गिरोह नै सक्रिय रहेको दाबी गर्ने प्रहरीले पक्राउ भने गर्न सकेको छैन ।