विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अप्रेसन गरी एक बालकको पेटबाट कैँची निकालिएको छ ।  उदयपुरका एक १५ बर्षीय बालकले खेल्ने क्रममा कैँची निलेका थिए । उनको अप्रेसन गरी पेटमा भएको कैँची निकालिएको हो । 

चार दिन अघि उपचारका लागि आकस्मिक कक्षमा ल्याइएका बालकको एक्स(रे र सिटी स्क्यान गर्दा ठूलो आन्द्रामा कैँची देखिएको थियो ।

नोबेल शिक्षण अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई नेतृत्वको टीमले अप्रेसन गरेको थियो ।

ल्याप्रोस्कोपिक प्रविधिको सहायताले सफलतापूर्वक शल्यक्रिया गरी कैँची निकालिएको हो । दुई दिनको अस्पताल बसाइपश्चात् बालक पूर्ण रूपमा स्वस्थ भई घर फर्किएका छन् ।