सुनसरी । निर्वाचनको मुखमा उद्योग वाणिज्य संघ इटहरीमा विवाद सुरु भएको छ ।
निर्वाचनको मुखमा उद्योगी व्यवसायीहरूको फर्म नवीकरण गर्ने नाममा विधान विपरीत काम भइरहेको भन्दै संघका ९ जना कार्यसमिति सदस्यहरूले विरोध जनाउँदै तत्काल निर्णय सच्चाउन माग गरेका छन् ।
संघको अध्यक्ष जीवन पराजुली नेतृत्वमा रहेका ९ जना निर्वाचित कार्य समिति सदस्यहरूले शुक्रवार पत्रकार सम्मेलन गर्दै विधान विपरीत काम तत्काल रोक्न माग गरेका छन् ।
बहुमतको आडका अहिलेको नेतृत्वले नोट अफ डिसेन्ट लेख्दा समेत जबरजस्ती निर्णय गरी कुनै एक पक्षलाई फाइदा गराउने काम गरेको उनीहरूको ओराप छ ।
आन्तरिक राजस्व कार्यालय इटहरीले उद्योग वाणिज्य संघ इटहरीलाई एक औपचारिक पत्रमार्फत् कर चुक्ता नभएका व्यक्ति तथा संस्थाहरूलाई संघको सदस्यता नवीकरण गर्न उपयुक्त नहुने स्पष्ट निर्देशन दिएको अवस्थामा नेतृत्वमा रहेका व्यक्तिहरूले कानुनी राज्यको धज्जी उडाउँदै गलत कार्य गरेको आरोप लगाइएको छ ।
वर्तमान नेतृत्वले नवीकरणको नाममा मनलाग्दी निर्णय गरेको, कानुनको अवहेलना गर्दै गैर–लोकतान्त्रिक र जबरजस्ती निर्णय गर्दै कर तिर्ने व्यवसायीको अपमान गरेको असन्तुष्ट पक्षले आरोप लगाएको छ ।
गैर व्यापारीलाई सदस्यता दिएर चुनावी नतिजा आफ्नो पक्षमा पार्न नवीकरणको नाममा छुटको अफर ल्याइनु निन्दनीय भएको उनीहरूको आरोप छ । संघले बिहीबार बैठक बोलाएर चालु आर्थिक वर्ष सकिने केही दिन मात्र बाँकी रहँदा नवीकरण गर्न ३ वर्ष कटेको व्यवसायी फर्मलाई ५० प्रतिशत र ६ वर्ष कटेको लाई ७० प्रतिशत छुट गर्ने निर्णय गरेको थियो ।
तर यो निर्णय विधान विपरीत भएको भन्दै तत्काल फिर्ता लिन माग गरिएको छ ।
पत्रकार सम्मेलनमा कार्यसमिति सदस्यहरूमा राजेन्द्र केशरी घिमिरे, उमानाथ दाहाल (उमेश), सुरेश काकी, बलबहादुर न्यौपाने, राकेश श्रेष्ठ, ढुण्डिराज गुरागाईँ, दिलीप पराजुली, अभिषेक बस्नेत र सुभाष गौतम सहभागी थिए ।