सुनसरी । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले इटहरीमा सञ्चालित ग्रासरुट क्याम्प २ सय ४३ औं हप्तामा पुगेको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ वर्षअघि सुरु गरेको फुटबलको आधारभूत तह मानिने ग्रास रुट अहिले राष्ट्रिय जागृति क्लबसहित इटहरी फुटबल क्लब र द ब्वाइज क्लबले सञ्चालन गर्दै आएका छन् ।

एन्फाको आर्थिक सहयोग रोकिएपछि इटहरीका यी क्लबहरुले सुरु गरेको ग्रासरुट कार्यक्रमले बिहीबार २ सय ४३ औं हप्ता पार गरेको हो । दाताको सहयोग रोकिएपछि तीन वर्षदेखि इटहरी उपमहानगर ६ नम्बर वडाको आर्थिक सहयोगमा चलेको कार्यक्रमका लागि चालु आर्थिक वर्षको बजेट सकिएपछि बिहीबार समापन गरिएको छ । बर्षातको समय तथा चालु आर्थिक वर्षको लागि बजेट सकिएकाले केही समय कार्यक्रम रोकिएको वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेलले जानकारी दिए ।

फुटबल प्रतिको क्रेज बालबालिकामा देखेपछि आफूहरुले नेपाली फुटबललाई उत्कृष्ट बनाउन कार्यक्रम सुरु गरिएको कार्यक्रम संयोजक एवं एन्फा कोशी प्रदेशका सहमहासचिव केशव कार्कीले बताए । उनले उमेर समूहको प्रतियोगिता आयोजनालाई पनि स्थानीय क्लबहरुले प्राथमिकतामा राखेको जानकारी दिए ।

पछिल्लो समय स्थानीय तहले पनि खेलकुदलाई महत्व दिएकाले थुप्रै प्रतिभावान खेलाडी बाहिर ल्याउन यस्ता कार्यक्रमले सहयोग पुग्ने राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले बताए । इटहरीमा २ सय ४३ हप्तादेखि चलेको ग्रासरुट फुटबल क्याम्पमा सुनसरी र मोरङका ३ सय बढी बालबालिका सहभागी छन् ।

विद्यालय बिदाको दिन प्रत्येक शनिबार सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय प्रशिक्षकहरुले बालबालिकाहरुलाई फुटबलका आधारभूत सीप सिकाइएको मुख्य प्रशिक्षक एवं राष्ट्रिय महिला टिमका पूर्वसहायक प्रशिक्षक श्याम मानन्धरले जानकारी दिए । सुनसरी र मोरङका ग्रामीण क्षेत्रका बालबालिकासमेत सहभागी ग्रासरुट फुटबल क्याम्पका लागि मानन्धरसहित एन्फा प्रशिक्षक राजकुमार श्रेष्ठ, अभिषेक कालिकोटे, सन्दिप कोइरालालगायत प्रशिक्षक खटाइएको कार्यक्रम संयोजक कार्कीले जानकारी दिए ।